पोखरा- उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई धरौटीमा छाड्न अस्वीकार गरेको छ ।
मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासले आज निवर्तमान सभामुख महरालाई धरौटीमा छाड्न अस्वीकार गर्दै काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि महरालाई थुनामा पठाउने आदेशलाई सदर गरेको हो ।
आदेशमा भनिएको छ, “मुलुकी फौजदारी संहिता, २०७४ को दफा ६७ बमोजिम पुर्पपक्षका लागि थुनामा राख्ने गरी त्यस अदालत (काठमाडौँ जिल्ला अदालत) बाट भएको आदेश बेरितको नदेखिँदा बदर गरिरहनु परेन ।
संसद् सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती क’रणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहनुभएका महरा सो आदेशपछि थुनामै बस्नुपर्नेछ । गत मङ्सिर ५ गते महराले जिल्ला अदालतको थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरीपाऊँ भन्ने आग्रहसहित उच्च अदालतमा निवेदन दर्ता गर्नुभएको थियो । प्रतिवेदनमा अनुसन्धान हुने गरी थुना बाहिरै रहन पाउने माग निवेदनमा गरिएको छ ।
गत कात्तिक १८ मा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा अभियोग लागेका महरालाई थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो । सो अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अभियोगको थप अनुसन्धानका लागि थुनामा पठाइएको हो ।