राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीकाे ट्विट ह्याक भएको छ भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले भारतीय जनता पार्टी नेतृत्वको सरकारको आलोचना गर्दै ट्वीटरमा दिएको स्टाटस नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ह्याण्डलबाट रहस्यमय तरिकाले रिट्वीट भयो ।
जसले गर्दा नेपालभर सामाजिक सञ्जाल प्रयोगकर्ताबीच यो चासोको मुद्दा बनेको छ । प्रधानमन्त्री ओलीको ट्वीटरबाट सोनिया गान्धीको ट्वीट रिट्वीट भएको कुरा भुटानी पत्रकार तेन्जिङ लामसाङले लेखेका थिए ।
सोही आधारमा ‘द टेलिग्राफ’ले नेपालका प्रधानमन्त्रीको रिट्वीटको रहस्य भन्दै समाचार नै बनायो । तर यतिन्जेलसम्म प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको ट्वीटर दुरुपयोग भएको भन्दै ट्वीट गरेका थिए । यससँगै प्रधानमन्त्रीको ट्वीटर ह्याण्डलबाट गरिएको रिट्वीट हटाइयो । थापाले यसबारे अनुसन्धान भइरहेको पनि जनाएका छन् । प्रधानमन्त्रीबाट भने यसबारे केही प्रतिक्रिया आएको छैन ।
के थियो त सोनियाको ट्वीटरमा ? विवादास्पद नागरिकता कानुनलाई लिएर भारतमा आन्दोलन जारी छ । विभिन्न सहरमा भएका प्रदर्शन दबाउन प्रहरीले बल प्रयोग गर्दा ९ जनाको मृत्यु भइसकेको छ । आन्दोलन एक साता भन्दा लम्बिएपछि विपक्षी दल कांग्रेसकी अध्यक्ष सोनियाले शुक्रबार दिउसो ट्वीटरमा भिडियो सन्देश दिएकी थिइन् ।
भिडियो सन्देशमा गान्धीले भनेकी छन् :
‘लोकतन्त्रमा सरकारका गलत निर्णय र नीतिका विरुद्ध जनताले आवाज उठाउन पाउँछन् । र उनीहरुले चासो देखाउन पाउँछन् । सँगै नागरिकलाई सुन्ने र सम्बोधन गर्ने सरकारको जिम्मेवारी हो । तर बिजेपी सरकारले जनताका आवाजको उपेक्षा गरेको छ । साथै उनीहरुको असहमतिलाई बल प्रयोग गरेर दबाउन खोज्दैछ । जुन लोकतन्त्रमा अस्वीकार्य छ । कांग्रेस पार्टी बिजेपी सरकारो गतिविधिको निन्दा गर्छ । र आन्दोलनमा सहभागी विद्यार्थीप्रति ऐकवद्धता जनाउँछ । बिजेपी सरकारको जनविरोधी नीति र विभेद्कारी एजेन्डाविरुद्ध देशभरका विभिन्न शैक्षिक संस्थामा स्वतस्फुर्त आन्दोलन उठेका छन् । बिजेपी सरकारको बल प्रयोग अस्वीकार्य छ ।’
गान्धीले नागरिकता कानुन विभेद्कारी भएको भन्दै असहमति जनाएकी थिइन् । भारतको आन्दोलन भारतको नितान्त आन्तरिक मामिला भन्दै विभिन्न मुलुकले जनाइसकेका छन् । यसबारे चीनले समेत आन्तरिक मामिलालाई आफैँ समाधान गर्नू भन्दै प्रतिक्रिया दिएको थियो । यस्तोमा भारतको आन्दोलनलाई समर्थन गर्दै गान्धीको सन्देश आएको केही घण्टामै केपी ओलीको ट्वीटरबाट रहस्यमय तरिकाले रिट्वीट भएको हो ।