पोखरा- समाजवादी पार्टी नेपालले सरकारबाट बाहिरिने निर्णय गरेको छ । संविधान संशोधनको लागि भन्दै सरकारमा सहभागी भएको समाजवादी पार्टी त्यो सम्भव नहुने देखिएपछि सरकारबाट बाहिरिने भएको हो ।
मंगलबार बिहान समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको हो।प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समाजवादीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा बुझाउने बताइएको छ। समाजवादीबाट यादव उपप्रधानमन्त्री तथा कानुनमन्त्री छन्।त्यसैगरी समाजवादीका सचिव मोहम्मद इस्तियाक राई शहरी विकास मन्त्री छन् एक महिनाअघि मन्त्रिपरिषद पुनर्गठनमा स्वास्थ्यमन्त्री रहेका यादवलाई त्यो जिम्मेवारीबाट हटाएर कानुन मन्त्रालयको जिम्मेवारी दिइएपछि समाजवादी र सरकारबीचको सम्बन्धमा चिसो सुरु भएको थियो।
हालै राष्ट्रिय जनता पार्टी (राजपा)सँग सरकारले सहमति गरेसँगै समाजवादीमा असन्तुष्टि बढेको थियो। सरकारले मधेस केन्द्रित राष्ट्रिय जनता पार्टीका पाँच नेताहरुलाई बालुवाटार बोलाएर दुई बुँदे सहमति गरेको थियो। राष्ट्रियसभाको निर्वाचनमा सहकार्य गर्ने सहमति गरेका दुई दल संघीय र प्रदेश २ मा सत्ता साझेदारी गर्ने तयारीमा जुटेका छन्।
संघीय सरकारमा एक मन्त्रालय र प्रदेश २ मा मुख्यमन्त्री राजपालाई दिने गरी प्रस्ताव सरकारले राजपा नेतृत्वलाई पठाइसकेको छ। छिटै राजपा सरकारमा सहभागी हुने संभावना छ।
पुस ७ गते साँझ बसेको मन्त्रिपरिषद बैठकमा संविधान संशोधन सम्बन्धी प्रस्ताव पेस गर्न खोज्दा प्रधानमन्त्री ओलीले प्रक्रिया नपुगेको भन्दै अस्वीकार गरेका थिए। संविधान संशोधन प्रस्ताव अस्वीकार भएपछि यादवले सरकार छोड्ने मुड बनाएका थिए।
संविधान सुधार तथा संशोधनका लागि विज्ञ समिति गठन गर्नका लागि यादवले संविधान संशोधन प्रस्ताव तयार गरेका थिए। उक्त प्रस्तावलाई प्रधानमन्त्रीले ठाडै अस्वीकार गरेका थिए।त्यही विषयलाई लिएर मन्त्रिपरिषद्मा प्रधानमन्त्री र यादवबीच भनाभन पनि भएको थियो।
समाजवादी पार्टी सत्तारुढ दल नेकपासँग २ बुँदे समझदारी गरेर सरकारमा सहभागी भएको थियो । सरकारमा समाजवादी पार्टीको दुई मन्त्री रहेका छन् ।