logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सिमा बिवाद हल गर्न भारत बेखबर फेरि पत्र लेख्दै सरकार


  • पत्रपत्रिका
  • मंगलबार, पुष १५ २०७६

सिमा बिवाद सल्सटाउन भारतले चासाे नदेखाएपछि सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र अतिक्रमणका विषयमा परराष्ट्र सचिवस्तरीय वार्ताका लागि भारतलाई दोस्रो पटक पत्राचार गर्ने भएको छ। माघभित्रै परराष्ट्र सचिवस्तरीय वार्ताका लागि प्रस्तावको तयारी भएको हो। २०७१ साउनमा गर्ने भनिएको सचिवस्तरीय वार्ता अहिलेसम्म भएको छैन।

भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि कात्तिक अन्तिममा ‘सीमा अवलोकन टोली’ बनाएर स्थलगत रिपोर्ट र नापी विभागको नयाँ नक्सासहित नेपालले परराष्ट्र सचिवस्तरीय वार्ताका लागि तयारी गरेको थियो। सुस्ताबाहेक स्थलगत अवलोकन भएको छैन। स्थलगत रिपोर्टसँगै नयाँ नक्सासहित माघमा वार्ता गर्ने परराष्ट्रको तयारी छ।

भारतले तिथि अस्वीकार गर्दै वार्ताबाटै समाधान गर्ने पत्र पठाएको थियो। ‘भारतको जवाफपछि हामी अर्को तिथिको गृहकार्यमा छौं’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा भने, ‘सीमा समस्या समाधान गरी हाम्रो भूभाग फिर्ता ल्याउनैपर्छ।’

उनले भने, ‘सीमाको विषय इतिहासले हामीलाई बोकाइदिएको जिम्मेवारी हो, थाती रहेको विषय हो।’

उनले कूटनीतिक ढंगले समस्याको हल खोज्दा राम्रो हुने भएकाले त्यसमा जोड दिएको प्रस्ट पारे। भारतले नेपाली भूमि कालापानी क्षेत्रलाई समावेश गरी नक्सा सार्वजनिक गरेको विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि सरकारले कालापानी क्षेत्र नेपालको भएको र यससम्बन्धी विवाद अन्त्यका लागि वार्ता गर्न आग्रह गर्दै ‘थर्ड पर्सन नोट’ (कूटनीतिक पत्र) पठाएको थियो। भारतले नोटमा एक महिनापछि जवाफ पठाउँदै समस्या समाधान वार्ताबाटै गर्ने भन्दै आशय खुलाएपछि परराष्ट्रमन्त्री सकारात्मक देखिएका हुन्।

भारत सीमा समस्या समाधानका पक्षमा रहेको बुझाइ परराष्ट्रमन्त्री ज्ञवालीको छ। ‘अब भारतसँग छिटो वार्ताका लागि पहल हुन्छ’, ज्ञवालीले भने, ‘वार्ता सुरु भएसँगै सडकमा सुनिएका असन्तुष्टि र आलोचना मत्थर हुनेछन्।’

उनले हतार गरिरहँदा भारतीय राजदूत छैनन्। मंगलबारदेखि भारतीय राजदूत मञ्जीवसिंह पुरी कार्यकाल पूरा गरी स्वदेश फर्केका छन्। डा. अजय कुमारले कार्यवाहकको राजदूतको जिम्मेवारी सम्हालेका छन्।

मन्त्री ज्ञवालीले अर्को प्रसंगमा यस वर्ष दुवै छिमेकीसँग सार्थक आर्थिक साझेदारीको जग बसाउन सफल भएको बताए। नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार हुनुले भारतसँगको मित्रता झन् गाढा भएको उनको तर्क थियो। चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले पनि नेपाल र चीनबीचको सम्बन्ध उचाइमा पुगेको दाबी उनको छ। अन्य मुलुकसँग पनि कूटनीतिक सम्बन्ध प्रगाढ हुँदै नेपाल विश्वमा देखिन थालेको पनि मन्त्री ज्ञवालीले बताए। आजको अन्नपूर्ण पाेष्टमा खबर छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार