पोखरा – ३ नम्बर प्रदेश प्रहरी कार्यालयले सरुवा भएको १३ दिनसम्म जिल्ला नछाडेपछि चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ललाई १२ घण्टाभित्र बुझबुझारथ गर्दै जिल्ला छाड्न निर्देशन दिएको छ। यही पुस ४ गते मल्लको सरुवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा भएको थियो । सोही दिन उनीसहित २४ एसपीको सरुवा भएकोमा मल्ल भने अहिलेसम्म चितवनमै छन् ।
चितवनका प्रहरी प्रमुख मल्ललाई गत साता प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो । मल्लले रमाना नलिएपछि चितवनको प्रहरी प्रमुखमा सरुवा भएकी एसपी गंगा पन्तले जिम्मेवारी सम्हाल्न पाएकी छ्रैनन् ।
तर, प्रदेशले बुधबार दिएको गोप्य सर्कुलर पत्र नै एसपी मल्लले बिहीबार सुरक्षाकर्मीहरुको सामूहिक सामाजिक सञ्जाल ग्रुपमा हालेका छन्।प्रदेश प्रहरीका एसपी अरुण पौडेलले हस्ताक्षर गरेको पत्र संख्या नम्बर ८१०४ रहेको पत्रमा डीएसपीलाई चार्ज बुझाएर तत्काल त्यसको जानकारी मातहतलाई गराउन उल्लेख छ।
प्रहरी प्रधान कार्यालयले पुस ४ गते एसपी मल्लसहित २४ एसपीको सरूवा गरेको थियो। चितवनमा एसपी गंगा पन्तको सरूवा भएको छ।