राजनीति
चितवन ।
आफू निर्वाचन लडेर संसदीय दलको नेता नबन्ने नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले बताएका छन् ।
पत्रकारहरुसँग भरतपुर विमानस्थलमा कुरा गर्दै महामन्त्री कोइरालाले भने,‘ संसदीय दलको नेता उठ्न मलाई पनि कतिपय साथीहरुले भन्नु भएको छ । निर्वाचनबाट दलको नेता हुन्न सहमतिमा दिए हुन्छु ।’ कोइरालाले संसदीय दलको नेतामा शेरबहादुर देउवाको विकल्प खोजिने पनि बताएका छन् । यद्यपी देउवाको विकल्प को हुन सक्छ भन्नेवारे उनले खुलाउन चाहेनन् ।
पार्टीमा नेतृत्व परिवर्तनको आवश्यक भए पनि अहिले नै महाधिवेशन गर्न नसकिने उनको भनाई थियो । एमाले र माओवादीबीच भएको पार्टी एकतालाई कांग्रेसले कुन रुपमा लिएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा महामन्त्री शशांकले भने, ‘कांग्रेसका लागि चुनौती र प्रतिस्पर्धा बढे पनि दुई ठूला कम्युनिष्ट पार्टी बीच एकता हुनु खुसीको कुरा हो । हामीले पनि आफ्नो पार्टीलाई जोगाउनुपर्छ ।’
कांग्रेस विपक्षमा रहँदा संगठित हुने भन्दै उनले पार्टीलाई बलियो बनाउने अभियान चलाउने बताए । कांग्रेस नेतृत्वले अझै हार स्वीकार नगरेको हो भन्ने प्रश्नमा महामन्त्री कोइरालाले भने, ‘पार्टी सभापतिले व्यक्तिगत रुपमा स्वीकार नगरे पनि कांग्रेसले हार स्वीकार गरेको छ ।’