logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

चर्को विवादका बिच यसरी भयाे ३ नम्बर प्रदेश राजधानीमा सहमति


  • राजनीति
  • बुधबार, पुष २३ २०७६

प्रदेश–३ को स्थायी राजधानी हेटौंडा र नाम बागमती नै राख्न सत्तारुढ दल नेकपाले दिएको निर्देशनप्रति असन्तुष्टि जनाएका नेताहरुलाई नेकपाको शीर्ष नेतृत्वले निर्णय परिवर्तन नहुने भन्दै पार्टी निर्देशनको पालना गर्न पुनः सचेत गराएको छ ।

पार्टी नेतृत्वले निर्णयमा पुनर्विचार गर्छ कि भन्ने अपेक्षासहित मंगलबार बालुवाटार पुगेका प्रदेश ३ का नेताहरु आफ्नो नेतृत्व पूर्ववत निर्णयबाट हलचल नै नभएपछि हेटौंडा नै राजधानी राख्न सहमत भएर फर्केका छन् ।
आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै सचिवालयले यसअघि दिएको निर्देशन नमान्ने बताएका नेकपाका प्रदेश सांसद र प्रदेश ३ का नेताहरुहरुसँग नेकपाका शीर्ष नेताले झण्डै ३ घण्टा छलफल गरेका थिए । नेतृत्वले पार्टीको निर्णय परिवर्तन नहुने जनाउ दिँदै त्यसैलाई लागू गर्न निर्देशन दिएपछि असन्तुष्टहरु पनि निर्णय मान्न बाध्य भएर हेटौँडा फर्केका हुन् ।

‘पार्टीले यो निर्णय निकै सुझबुझ र रणनीतिक हिसावले गरेको हो । पार्टीको निर्णय मान्नु तपाइँहरुको पनि दायित्व हो । पार्टीलेकुनै हालतमा यो निर्णय परिवर्तन गर्दैन,’ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको भनाई उदृत गर्दै प्रदेश ३ का एक नेताले रातोपाटीलाई बताए ।

नेकपा प्रदेश–३ का अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री, कार्यकारी अध्यक्ष र महासचिवले पार्टी निर्णय लागु गर्न भनेकाले अव सोही निर्णय कार्यान्वयन हुने बताए ।

उनले शीर्ष नेताहरुसँगको छलफल निकै सौहार्दपूर्ण भएको भन्दै अव एकमतका साथ पार्टी निर्णय कार्यान्वयन गर्न हेटौँडा फर्कन लागेको जानकारी दिए ।

दाहालले नेकपा केन्द्रीय सचिवालयले ३ नम्बर प्रदेश सभालाई निर्देशन नदिएको भन्दै आफ्नो दल र पार्टीका नेताहरुलाई यसो गर भनेर सुझाव दिनु नराम्रो नभएको पनि बताए ।

मंगलबार बालुवाटारमा नेताहरुसँगको छलफलमा प्रदेश ३ की इन्चार्ज अष्टलक्ष्मी शाक्यले सचिवालयले निर्णय गर्नुअघि आफूहरुसँग छलफल गरेर गरेको भए राम्रो हुन्थ्यो भन्ने धारणा राखेकी थिइन् ।

जवाफमा प्रधानमन्त्री ओलीले ‘यो केही होइन । विविध कारणले हामीले यस्तो निर्णय गरेका हौं । काभ्रे भनेको काठमाडौ उपत्यका नै हो भन्दा पनि हुन्छ । उपत्यकाको समस्या जटिल बन्दै गएको छ । यहाँको जनघनत्व, विकास निर्माण पनि हेर्नुपर्छ । हाम्रो विकासको अवधारणा पनि भ्याली केन्द्रीत होइन, बाहिर लानुपर्छ भन्ने हो । दूरीको हिसावले अवको दुई तीन बर्षपछि धेरै टाढा पनि हुदैन । फास्ट ट्र्याक बनेपछि एकै घण्टाको दूरी हो’, प्रधानमन्त्री ओलीले भनेका थिए ।

त्यस्तै प्रधानमन्त्री ओलीले धेरै सोचविचार गरेर, दीर्घकालीन ढंगले र रणनैतिक हिसावकितावले गरिएको निर्णय परिवर्तन गर्न असम्भव रहेको बताएका थिए ।

‘एकातिर संघीयताको कुरा पनि गर्नुहुन्छ । अर्कातिर उपत्यकामै आउन पनि खोज्नुहुन्छ । तपाइँहरुले खोजेको संघीयता कि केन्द्रीयता ? मैले बुझ्न नसकेको कुरा यो हो’ प्रधानमन्त्री ओलीले असन्तुष्ट नेताहरुसँग प्रश्न गरेका थिए । प्रधानमन्त्रीले यसो भन्दा सिन्धुपाल्चोक र दोलखाका नेताहरुले भने हेटौडा टाढा हुने भएकाले विरोध गर्नुपरेको बताएका थिए ।

नेकपा प्रदेश–३ की इञ्चार्ज अष्टलक्ष्मी शाक्यको नेतृत्वमा मुख्य सचेतक रामेश्वर फुयाँल, आन्तरिक मामिला तथा कानुन मन्त्री जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, सांसद्हरु राजेन्द्र पाण्डे, पशुपति चौलागाईं र दीपक निरौलालगायतको टोली काठमाडौं आएको थियो ।

नेकपा केन्द्रीय सचिवालले प्रदेश–३ को राजधानी हेटौंडा र नाम बागमती राख्न निर्देशन दिएपछि प्रदेश संसदीय दलमा विवाद भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार