राजनीति
काठमाडौं : गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि निगरानी बढाएको छ।
गृहले विप्लवका कार्यकर्ताहरूलाई सभा, सम्मेलनलगायत गतिविधि गर्न नदिन र संगठित भएको पाइए तत्कालै पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ।
गृहले हिंसात्मक गतिविधिमा संलग्न भएको पाइए विप्लवका नेता–कार्यकर्तामाथि तत्काल मुद्दा चलाउन समेत निर्देशन दिएको छ।
केही समय साम्यजस्तो देखिएका उनीहरू पुनः भौतिक संरचना र भ्रष्टाचारीका नाममा व्यक्ति विशेषका सम्पत्तिमाथि आक्रमण गर्न थालेपछि गृहले उनीहरूमाथि कडा निगरानी गर्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ।
गृहले संविधान र कानुनविरोधी काम गर्ने समूह वा व्यक्तिका गतिविधि माथि कडा निगरानी गरिएको जनाएको छ। उसले त्यस्ता अवाञ्छित गतिविधिमा सक्रिय हुने जोकोहीमाथि मुद्दा लगाइने र निगरानीका लागि सुरक्षा निकायलाई निर्देशन दिइएको जनाएको छ।
गृह प्रवक्ता नारायणप्रसाद दुवाडीले शान्ति सुरक्षामा खलल पार्न खोज्ने व्यक्ति उपर कडा निगरानी गरिएको बताए।
दवाडीले भने, एनसेललगायत संरचनामा आक्रमण गर्ने विप्लव कार्यकर्ताको खोजी भइरहेको जनाए।
गृहले मुलुकभरका विप्लवका नेता–कार्यकर्ताको अभिलेख बनाई सोही बमोजिम निगरानी र आवश्यक कारबाही गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिएको छ।