logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राजिनामा दिन्न : उपसभामुख तुम्बाहाङफे


  • राजनीति
  • आइतबार, पुष २७ २०७६

उपसभामुख शिवमाया तुम्बाहाङफेले पार्टी निर्णय आफूलाई थाहा नभएको बताएकी छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले राजीनामा दिन निर्देशन दिए लगत्तै उपसभामुख तुम्बाहाङफेले निर्णयबारे आफूलाई थाहा नभएको भन्दै राजीनामा नदिने बताएकी हुन्।

पार्टी सचिवालय बैठकले राजीनामा गराएर सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ अब के गर्नुहुन्छ भन्ने अन्नपूर्णको प्रश्नको जवाफमा उनले राजीनामा नदिने बताएकी हुन्। ‘पार्टी निर्णयबारे मलाई केही जानकारी छैन’, तुम्बाहाङफेले भनिन्, ‘म राजीनामा दिन्‍नँ।’

नेकपाबाट उपसभामुख बनेकी शिवमायालाई राजीनामा गराएर सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउने गरी नेकपा सचिवालयले केहीबेरअघि उनलाई राजीनामा गराउने निर्णय गरेको छ।

उपसभामुखको राजीनामा पछिमात्र सभामुखको टुंगो लाग्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। सभामुखको टुंगो नलाग्दा पुस ४ गते सुरु भएको हिउँदे अधिवेशनको बैठक फेरि बस्न सकेको छैन।

पुस ११ र १६ गते प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको थियो। अर्को बैठक आइतबार बस्दैछ। नेकपाले शिवमायालाई राजीनामा गराएर सभामुखको टुंगो लगाउने तयारी गरेको छ।

सभामुखको दौडमा नेकपाभित्र पूर्वएमालेको तर्फबाट सुवास नेम्वाङ र पूर्व माओवादीको तर्फबाट अग्नी सापकोटा र पम्फा भुसालको नाम चर्चामा छ। उपसभामुख तुम्बाहाङफेसमेत सभामुखको दाबेदार हुन्।

सभामुख र उपसभामुख एउटै पार्टीको नहुने संवैधानिक प्रावधानले गर्दा उपसभामुखलाई राजीनामा गराएर नेकपाले सभामुखको निर्वाचनमा जाने तयारी गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार