राजनीति
सत्तारुढ दल नेकपाका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच सदस्यबीचको गोप्य भेटघाटलाई लिएर नेकपाभित्र हलचल पैदा भएको छ । यसको सबभन्दा ठूलो तरंग प्रधानमन्त्री निवास बालुवाटारमा देखिएको छ ।
यही विषयलाई लिएर दुई अध्यक्ष केपी शर्मा ओली र दाहालबीच अविश्वास पैदा हुने अवस्था आएपछि दाहालले आंशका मेट्न सचिवालय बैठकमा भैंसेपाटी भेटघाटबारे जानकारी गराएका थिए। भेटघाटमा सामान्य राजनीतिक विषयवस्तुमा कुरा भएको र कुनै मोर्चाबन्दी नभएको उनले जानकारी दिएका थिए।
उपसभामुखलाई राजीनामा दिन लगाउने शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओली सहभागी भएनन्। सचिवालयका केही सदस्य यसलाई ओलीको असन्तुष्टिका रुपमा हेर्छन्। तर, ओली बैठकको केही अगाडिमात्रै मिर्गौलाको डायलासिस गरेर फर्किएका कारण बैठकमा सहभागी नभएको बताइएको छ। बैठकअघि बालुवाटारमै ओली र दाहालबीच कुराकानी भने भएको थियो।
बुधबार दाहालसहित तेस्रो वरियताका झलनाथ खनाल, माधवकुमार नेपाल, संगठन विभाग प्रमुख वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच गोप्य भेटघाट भएको थियो। भेटघाट नेता गौतमको निवास भैंसेपाटीमा भएको थियो।
नौ सदस्यीय स्थायी समितिमध्ये पाँच नेताले गरेको गोप्य भेटघाटले नेकपाभित्र असन्तुष्टि र आंशका पैदा गरेको छ। पार्टीका कार्यकारी अध्यक्षले नै गुटको भेला गरेका भनेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले असन्तुष्टि जनाएका हुन्। सचिवालयका बहुमत सदस्य भेला भएर आफूविरुद्ध मोर्चा बन्दी गरेको ओलीको बुझाई छ।
ओली निकट स्थायी समितिका एक सदस्य दुई अध्यक्षबीच सिधा–सिधा कुरा गर्दा राम्रो हुने बताउँछन्। ‘कार्यकारी अधिकार पाएको अध्यक्षले भिन्दै गोप्य भेला बैठक गर्दा आशंका पैदा हुन्छ। यसो नगर्दा पार्टीको हितमा हुन्छ,’ उनले भने।
भेटलगत्तै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले बिहीबार नै दाहाल र प्रवक्ता नारणकाजी श्रेष्ठलाई बालुवाटार बोलाएर गोप्य भेटघाटमा भएको छलफलबारे जान्न चाहेका थिए। तर, दाहाल अन्य काममा व्यस्त भएको भन्दै बिहीबार बालुवाटार गएनन्।
प्रवक्ता श्रेष्ठले भने बिहीबार नै बालुवाटार पुगी भेटबारे ओलीलाई जानकारी गराएका थिए। ओली र श्रेष्ठबीच बिहीबार साँझ करिब दुई घण्टा लामो छलफल भएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बिहीवार श्रेष्ठ र शुक्रबार दाहालसँग प्रधानमन्त्री ओलीको भेट भएको थियो। श्रेष्ठले प्रधानमन्त्री ओलीसँग आफ्नो भेट भएको पुष्टि गरे। तर, छलफलको विषयबस्तुबारे उनले भने, ‘समसामयिक राजनीतिक विषयमा कुराकानी भयो।’
ओलीले प्रवक्ता श्रेष्ठसँग के उद्देश्यका लागि भेला गरिएको हो र के–के विषयमा छलफल भयो भनेर जान्न खोजेका थिए। जवाफमा श्रेष्ठले ‘पार्टीको आन्तरिक जीवनकाबारे छलफल भएको र त्यहाँ कुनै मोर्चाबन्दी नभएको’ जानकारी गराएका थिए।
बिहीबार भेट नभए पनि ओली र दाहालबीच शुक्रबार भने करिब तीन घण्टा लामो छलफल भएको थियो। स्रोतका अनुसार यो छलफलमा पनि ओलीले भैंसेपाटी भेलाबारे दाहालसँग जानकारी मागेका थिए। दाहालले भने गौतमको आग्रहमा आफू उनको घरमा गएको र अन्य नेताहरु पनि आएपछि समसामयिक विषयमा छलफल भएको बताएका थिए।
शुक्रबार ओली र दाहालबीचको छलफलमा केही समय उपसभामुख शिवमाया तुम्बाहाङ्फे पनि सहभागी थिइन्। उपसभामुखको राजीनामालाई लिएर ओली र दाहालबीच फरक मत छ। दाहालले उपसभामुखले राजीनामा दिए सभामुख चयनको प्रक्रिया अगाडि बढाउन सहज हुने बताएका थिए। ओलीले भने पहिला सभामुखको टुंगो लागेपछि उपसभामुखको राजीनामा आउने बताएका थिए। ओली र दाहालसँगको भेटमा उपसभामुख तुम्बाहाङ्फेले सभामुख टुंग्याएपछि मात्रै आफुले राजीनामा दिने बताएकी थिइन्। त्यसको भोलीपल्टै नेकपाले तुम्वाहाम्फेलाई उपसभामुखबाट राजीनामा दिन निर्देशन दिएको थियो।
भैंसेपाटी भेटघाटको सम्बन्ध नेकपाको राष्ट्रियसभा उम्मेद्वार छान्ने निर्णयसँग जोडिएको छ। नेकपाले पुस १८ गते राष्ट्रियससभाको आसन्न निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएको थियो। बैठकमा नेता गौतम र श्रेष्ठलाई पनि राष्ट्रियसभा उम्मेद्वार बनाउन दुवै अध्यक्ष ओली र दाहालले प्रस्ताव गरेका थिए। श्रेष्ठले पार्टीको निर्णय स्वीकारे पनि गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संसोधन भएमात्रै आफू उम्मेद्वार हुने सर्त राखेका थिए। त्यसपछि ओलीले ससर्त राष्ट्रियसभामा पठाउन नसकिने भन्दै गौतमको सर्त अस्वीकार गरेका थिए।
प्रधानमन्त्री ओलीले आफ्नो सर्त अस्वीकार गरेकोमा असन्तुष्ट नेता गौतमले पुस २३ गते बुधबार माधव नेपालसँग भेट गरेका थिए। यही भेटमा हो, गौतम निवासमा दाहालसहित सचिवालयका पाँच नेताको भेला गर्ने निर्णय भएको। गौतम र नेपालबीचको भेटपछि त्यसै दिन दिउँसो गौतम निवासमा पाँच नेता भेला भएर छलफल गरेका थिए।
भेलाका सहभागी एक नेताका अनुसार भैंसेपाटी भेलामा राष्ट्रियसभा उम्मेद्वार टुंगाउने दिन गौतमले राखेको सर्तमाथि छलफल भएको थियो। एक नेताका अनुसार ‘प्रधानमन्त्री ओलीले पनि संविधान संसोधन गर्नै सकिन्नँ नभनेको अवस्थामा राष्ट्रियसभामा जानका लागि सर्त राख्नु गौतमको गल्ती भएको’ भेलाको निश्कर्ष थियो। गौतमले प्रधानमन्त्री बन्ने बाटो नखोले आफू सांसद हुनकै लागि राष्ट्रियसभामा नजाने अडान राखेका थिए। बर्दियाबाट २०७४ को चुनाव हारेका गौतमले यसअघि विभिन्न ठाँउबाट उपचुनाव लडेर सांसद बन्ने इच्छा व्यक्त गरेका थिए। तर, पार्टीभित्रको शक्ति सन्तुलनका कारण उनको प्रयास सफल भएको थिएन।
ती नेताका अनुसार संविधान संसोधनका लागि पार्टीभित्र पहल गर्ने सहमति भएको थियो। संविधान संसोधनको मूख्य मुद्दाबाहेक एमसीसी र सभामुख चयनका विषयमा पनि त्यस दिन सामान्य छलफल भएको थियो। यही छलफललाई लिएर प्रधानमन्त्री ओलीले असन्तुष्टि राखेका हुन्। भेटघाटमा ओली स्वयं र ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र रामबहादुर थापा गएका थिएनन्।
गत वर्ष पनि झम्सीखेलमा यीनै पाँच नेता बसेर ओलीको कार्यशैलीविरुद्ध जाने योजना बनाएका थिए। २०७५ माघ १० गते प्रधानमन्त्री ओली विदेश भ्रमण रहेकै बेला सचिवालयका बहुमत सदस्यले धोवीघाटमा गोप्य छलफल गरेका थिए। यो भेलाबाट पनि ओली असन्तुष्ट बनेका थिए।
आफूविरुद्ध मोर्चाबन्दी भएको थाहा पाएपछि ओलीले गौतमलाई उपाध्यक्ष र संगठन विभाग बनाउने कार्ड फालेका थिए। त्यसैअनुसार गौतमलाई संगठन विभाग प्रमुख बनाइएको हो। र, उपाध्यक्ष बनाउनका लागि पार्टी विधान संसोधन प्रस्ताव तयार भएको छ। स्थायी समितिले पास गरेको संसोधन केन्द्रीय समितिले अनुमोदन गरेपछि लागु हुनेछ। नेकपाले माघ १५ गते केन्द्रीय समितिको बैठक बोलाएको छ।