राजनीति
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका पत्रकारहरूको संस्था ‘प्रेस संगठन’ चितवनका जिल्ला सदस्य तथा सौराहा अनलाइनका सम्पादक राजेन्द्र आचार्यमाथि शुक्रबार साँझ आक्रमण भएको छ ।
दाताज् इभेन्टले शुक्रबार भरतपुरस्थित द तन्दुरी प्यालेसमा आयोजना गरेको रात्रिकालीन कार्यक्रममा सहभागी हुन गएका पत्रकार आचार्यमाथि सप्तगण्डकी अनेरास्ववियूका नेता हरि आचार्यले आक्रमण गरेका हुन् ।
‘तैँले सधैं किन नेकपाका दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको मात्र समाचार हाइलाइट गर्छस्’ भन्दै हरि आचार्यले एक्कासि आफूमाथि आक्रमण गरेको पत्रकार राजेन्द्र आचार्यले बताएका छन् ।
अखिलका नेता हरि आचार्यले आक्रमण गर्दा पत्रकार राजेन्द्र आचार्यको गालामा चोट लागेको न्युज २४ का पत्रकार सुरेन कुँवरले बताएका छन् । पूर्वएमाले पृष्ठभूमि भएका अखिलका नेता हरि आचार्य केपी ओली निकटका मानिन्छन् ।
घटना लगत्तै चितवन प्रहरी घटनास्थलमा पुगेको थियो । आक्रमणकारी अखिलका नेता हरि आचार्य फरार भएका छन् ।
पत्रकार राजेन्द्र आचार्यमाथि आक्रमण हुँदा सप्तगण्डकी क्याम्पस प्रमुख मणिराज महतो र अन्य विद्यार्थी संगठनका नेताहरूको पनि त्यहाँ उपस्थिति रहेको थियो ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सांसद कृष्णभक्त पोखरेल निकट मानिने क्याम्पस प्रमुख मणिराज महतोकै निर्देशनमा हरि आचार्यले आक्रमण गरेको जनाइएको छ ।
सोही कार्यक्रममा रहेका सांसद पोखरेलका स्वकीय सचिव दीपेन्द्र अधिकारीले पनि पत्रकार आचार्यलाई कुटपिट गराउन भूमिका खेलका थिए ।
नेकपामा पूर्वएमाले निकटका अखिलका नेता हरि आचार्यले पूर्वमाओवादी एवम् प्रचण्ड निकट मानिने पत्रकार राजेन्द्र आचार्यमाथि आक्रमण गरेपछि चितवनमा खड्गप्रसाद ओली र प्रचण्ड पक्षको लडाइँ कार्यकर्ता हुँदै पत्रकारसम्म आइपुगेको नेकपा निकटका एक पत्रकारले बताएका छन् ।
कार्यक्रममा नेकपा निकट अन्य पत्रकारहरूको पनि सहभागिता रहेको थियो ।
चितवन प्रहरीले आक्रमणकारी अखिलका नेता हरि आचार्यलाई पक्राउ गरेर कारबाही गर्ने आश्वासन दिएको छ ।