राजनीति
राष्ट्रपति विद्यादेवी भण्डारीकाे सचिवालय बेला-बेलामा विभिन्न बहानामा सामाजिक सञ्जालमा भाइरल भइरहन्छ । राष्ट्रपति कार्यालय शीतलनिवसाको सचिवालयले गरेको गल्तीले शीतलनिवास भाइरल हुने गरेको हो ।
राष्ट्रपति कार्यालयको सचिवालयले एकपटक गल्ती गरेर पुनः सच्याउँदै विज्ञप्ति जारी गर्ने गरेको छ । शुक्रबार पनि सचिवालयले एक गम्भीर त्रुटि गर्यो । जसका कारण सिंगो राष्ट्रपति कार्यालय नै ‘ट्रोल’को सिकार बन्यो । जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेको विषयमा जारी गरिएको विज्ञप्तिमा त्रुटि भएपछि आलोचना भएको थियो । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले माघ ३ गते जारी गरेको विज्ञप्तिमा ‘आज मिति २०७६ माघ १० गते’ लेखिएपछि सामाजिक सञ्जालमा चर्चा पाएको थियो ।
सामाजिक सञ्जालमा विरोध भएपछि ‘आज मिति २०७६ माघ ३ गते’ लेखेर अर्को विज्ञप्ति जारी भएको छ । राष्ट्रपति कार्यालयले यो पहिलो पटक गरेको गल्ती भने होइन् । यसअघि पनि राष्ट्रपति कार्यालयको सचिवालयले विज्ञप्ति जारी गर्न हतारिँदा शीतलनिवास विवादीत भएको थियो ।
यश अघि प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति मिति नै एक वर्ष अघिको राखेर विज्ञप्ति जारी गरेपछि सामाजिक सञ्जालमा चर्को टिप्पणी भएको थियो । ओलीको पत्र राष्ट्रपति कार्यालयमा दर्ता हुने बित्तिकै राष्ट्रपतिको सचिवालयले संविधानको धारा ७६ (२) अनुसार ओलीले एमाले र माओवादीको समर्थनमा प्रधानमन्त्री पदमा दाबी गरेको विज्ञप्ति जारी गर्यो । उता प्रधानमन्त्री शेरबहादुर देउवा वालुवाटारबाट देशवासीका नाउँमा सम्बोधन गरेर राजीनामा दिएको घोषणा गर्दै थिए । राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गरेको जस्तो अति महत्वपूर्ण र संवेनशील पत्रमा एक वर्ष अघि २०७३ साल फागुन ३ गतेको मिति उल्लेख भएको पाइएको छ । दुईपटक भएका यी गल्तीहरुमा फरक फरक व्यक्तिको कमजोरी प्रष्ट देखिएको छ । यसअघि प्रधानमन्त्रीको नियुक्तिको सवालमा भएको गल्तीमा प्रवक्ता कुलप्रसाद चुडालले विज्ञप्ति जारी गरेका थिए ।
यो पटक भने प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ति जारी गरेका छन् । पटक पटकको गल्तीपछि सचिवालयमा राष्ट्रपतिको आक्रोश सचिवालयले गरेको गल्तीको कारण पटक पटक राष्ट्रपति कार्यालय आलोचित भएपछि राष्ट्रपति भण्डारी आक्रोशित भएकी छन् । सचिवालयका सदस्यहरुलाई उनले दश पटक पढेर मात्र विज्ञप्ति जारी गर्न निर्देशन समेत दिएकी छिन् ।