सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने सचिवालय बैठकबाट निर्णय गरेको छ।
नेकपाले उम्मेदवार बनाउने निर्णय गरेका सापकोटामाथि काभ्रे टाप्चाका श्रीकृष्ण मावि व्यवस्थापन समिति अध्यक्ष अर्जुनबहादुर लामाको अपहरण र ह’त्या गरेको आरोप छ। लामाको २०६२ साल वैशाख १६ गते अपहरणपछि ह’त्या भएको थियो।
सापकोटाविरुद्ध लामाको हत्यासँगै २०६८ असार ६ मा परेको अदालतको अवहेलना सम्बन्धी मुद्दा र २०७२ चैत्र २६ मा अधिकारकर्मी सुशील प्याकुरेलले अदालतको परमादेश कार्यान्वयन नभएको भन्दै दायर गरेको रिट पनि सर्वोच्चमा छ।
उनीविरूद्ध सर्वोच्चमा परेको एक मुद्धा र दुईवटा रिटमा माघ २२ गते सुनुवाइ हुने भएको छ।
को हुन् सापकोटा ?
२०७४ सालमा भएको संसदीय निर्वाचनमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेसका प्रभावशाली नेता मोहन बस्नेतलाई हराउँदै निर्वाचित भएका अग्नि सापकोटा सिन्धुपाल्चोकको चौतारा ६ कुविण्डेमा २०१४ साल फागुन २४ गते जन्मिएका हुन् ।
सापकोटा साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट संविधानसभामा दुई पटक भारी मतान्तरले विजयी भएका थिए ।०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले पटक–पटक जेल जीवन बिताएका छन् ।
०४८ सालमा संयुक्त जनमोर्चाकातर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उमेदवार बनेका उनी पराजित भएका थिए । ०५१ सालमा तत्कालीन माओवादीको केन्द्रीय सदस्य बनेका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्य समेत थिए । सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । ०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदासम्म पूरै समय भूमिगत बसेका थिए ।
सापकोटाले यसअघि सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।