राजनीति
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले एमसीसी संसदबाट पारित हुने दाबी गरेका छन् ।
उनले भने,‘एक शब्दमा भन्नुपर्दा एमसिसी सदनबाट पास हुन्छ । प्रधानमन्त्रीले पनि यसलाई अघि बढाउन चाहनुभएको छ । प्रमुख प्रतिपक्षी दलले पनि पारित गर्नुपर्छ भनेको छ । त्यसैले पार्लियामेन्टरी सिष्टममा ह्विप लागुहुन्छ ।’ यद्यपि उनले एमसिसीको कतिपय प्रावधानमा भने आफ्ना रिर्जवेशन रहेको बताए ।
मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालमा थुप्रै राष्ट्रका सहयोग र अनुदानका कार्यक्रमहरु चलिरहेकोले ती कार्यक्रमहरु संसदबाट पारित नभएको पनि सुनाए ।
उनले उक्त सम्झौतामा निकै शर्तहरु राखिएको भन्दै असन्तुष्टि पोखे । उनले भने,‘ती शर्तहरु जरुरी छैनन् । अनुदान भनेको त निशर्त दिने कुरा हो । नेपालमा ठूलो भूकम्प आयो, किन ग्रान्ट दिएन् ?’
पौडेलले एमसिसी लागु भएको देशमा गरिबी निवारण नभएको पनि जिकिर गरे । उनले भने,‘नेपालमा पनि भयानक प्रगति हुँदैन । हामी अमेरिकाको ५५ अर्ब नगुमोस् भन्ने पक्षमा छौं । नेपालको विकास र समृद्धिमा यसले सहयोग नै पुर्याउँछ । तर, यसमा उल्लेख गरिएका शर्तहरु जायज छैनन् । यसको बारेमा निकै बहस गर्न जरुरी छ ।’ उनले निशर्त अनुदान भैदिएको भए यति धेरै डिबेट नै हुँदैनथियो भन्ने उनको तर्क छ ।