राजनीति
गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे)ले कास्की जिल्ला फुटबल संघका अध्यक्ष मीलन गुरुङमाथि हातपात गरेका छन् । पोखराको भण्डारढिक रंगशालामा मनाङेले मंगलबार गुरुङलाई मुक्का प्रहार गरेका हुन् ।
मंगलबारदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको उद्घाटन अघि दुईबीच भनाभन भएको थियो। सांसद गुरुङले प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने व्यवस्था नगरेको विषयमा आयोजकलाई प्रश्न गरेका थिए।
भनाभन हुँदै गर्दा सांसद मनाङेले आफूमाथि मुक्का र लात्ती प्रहार गरेको मीलन गुरुङले बताए। आयोजक अखिल नेपाल फुटबल संघ, गण्डकी प्रदेश लिग समितिका उनी कोषाध्यक्ष हुन्। ‘अर्को खेलमा आएको टिमलाई ४–५ दिनअघिबाट राख्न सकिँदैन,’ उनले भने, ‘हामीले आज (मंगलबार)बाट राख्छौं भन्दा ममाथि हातपात भयो।’
सांसद मनाङेले गुरुङलाई हातपात गरेको स्वीकारे। ‘मनाङमा हिमपात भएकोले हाम्रो टिम अलि छिटो आइपुग्यो,’ उनले भने, ‘५ गते हुने भएको खेल ७ गते सर्यो। टिम कहाँ सुत्ने, कहाँ राख्ने, कहाँ खुवाउने केही थाहा छैन। यिनीहरुले पैसा खान छोड्दैन। मुद्दा हालेर केही हुँदैन भनेर झापड हानेकै हो।’ उनले लिग सरेकोले घाचोकमा खेल्न गएपनि खेलाडीलाई राख्ने जिम्मा आयोजकको भएको बताए।
प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरे। लिगमा ९ टिमको सहभागिता छ। प्रतियोगिताको उपाधि विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पाउँनेछन्।