राजनीति
काठमाडौं । राष्ट्रपतिसँगै नयाँ सभामुखका लागि पनि बिभिन्न नाम चर्चामा छन् । सभामुख माओवादीको भागमा परेको छ । तर, यो पदका लागि पाँच जना खुलेरै लविङ गरिरहेका छन् । आकांक्षी धेरै भएपछि सभामुख छान्न माओवादीभित्र लफडा नै हुने संकेत देखिएको छ ।
चैत ५ भित्र सभामुखको निर्वाचन भइसक्नुपर्ने राजनीतिक अवस्था छ । तर, कसलाई सभामुखको उम्मेदवार बनाउने भन्नेमा माओवादीले निर्णय गरिसकेको छैन । सुरुदेखि कृष्णबहादुर महराको नाम चर्चामा रहे पनि आजसम्म आइपुग्दा आकांक्षी धेरै भइसकेका छन् ।
कृष्णबहादुर महरा : महरा पहिल्यैदेखि सभामुखको कुर्सी ताकेर बसिरहेका छन् । प्रधानमन्त्री केपी ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउने इच्छा देखाउँदै प्रचण्डलाई अनुरोध गरे पनि अन्ततः माओवादीकै भागमा यो पद परेको छ । सभामुख दिँदा राष्ट्रपति आफूलाई चाहिने प्रस्ताव प्रचण्डले गरेपछि ओली पछि हट्न बाध्य भएका थिए । सभामुख आफ्नो भागमा पर्दा महरालाई नै दिनुपर्ने सोंचमा प्रचण्ड थिए । महरा पनि ढुक्क थिए । तर, पछिल्लो समय आकांक्षी थपिएपछि प्रचण्ड अप्ठ्यारोमा परेका छन् ।
देव गुरुङ : गुरुङ सभामुखका लागि बलियो दाबेदारका रुपमा मैदानमा छन् । कुनै पदका लागि बाहिर नखुलेका गुरुङ सुरुमा मन्त्री बन्ने चर्चा पार्टीभित्र थियो । कुनै मन्त्रालयमै ‘सेटल’ गर्न प्रचण्ड लागेका थिए । तर, मन्त्रीहरुको टुंगो लगाउन प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वहेडक्वाटर सदस्यहरुको बैठकमा गुरुङले आफ्नो इच्छा व्यक्त गरे, ‘मेरो आकांक्षा मन्त्रीमा होइन, सभामुखमै छ ।’ उनी सभामुख पदका लागि निरन्तर लविङमा छन् ।
ओनसरी घर्ती : पूर्वसभामुख घर्ती पुनः दोहोरिने दाउमा छिन् । सभामुखमा दोहोरिने उनको इच्छा पूरा गर्न श्रीमान् वर्षमान पुन हात धोएर लागेका छन् । प्रधानमन्त्री ओलीसम्म उनले लविङ बढाएका छन् । राष्ट्रपति र उपराष्ट्रपति अहिलेकै दोहो¥याउने बहस भइरहँदा सभामुख पनि दोहो-याउनु पर्ने उनीहरुको आवाज छ ।
लेखराज भट्ट : भट्ट सुरुमा मन्त्रीका लागि चर्चामा थिए । तर, माओवादीले प्रदेश ७ बाट प्रतिनिधित्व गर्नेगरी बिना मगरलाई मन्त्री बनाउने निश्चित गरेको छ । महिला पनि भएकाले समावेशी प्रतिनिधित्वका लागि बिना उत्तम हुने आवाज उठेपछि अन्ततः भट्टले नै उनलाई मन्त्रीका लागि प्रस्ताव गरेका थिए । त्यसैले अहिले उनी सभामुखको दावेदारका रुपमा मैदानमा आएका छन् । बिनालाई मन्त्री बनाउने आफूले त्याग गरेको दृष्टान्त दिँदै उनले अहिले सभामुख बनाइदिन प्रचण्डलाई घच्घच्याइरहेको स्रोतले बतायो ।
अग्नी सापकोटा : अग्नी सापकोटा पनि मन्त्रीका आकांक्षी थिए । तर, अहिले ‘रिङआउट’ भइसके । मन्त्री छनोट गर्दा प्रचण्डले उनलाई कतै व्यवस्थापन गर्ने आश्वासन दिएका थिए । विगतदेखि प्रचण्डको ‘किचन क्याबिनेट’का पात्रको रुपमा चर्चामा रहेका उनी पटक–पटक मन्त्री बनिसकेका कमै नेताभित्र पर्छन् । अहिले मन्त्री नपाएपछि सापकोटा सभामुख बन्ने प्रयासमा छन् ।
त्यसो त एमालेका कतिपय प्रभावशाली नेताहरुले अझै पनि सभामुखमा भागबण्डा मिलिनसकेको बताउँदै आएका छन् । एमालेले नै सभामुख लिन पहल भइरहेको माधवकुमार नेपाललेसमेत बताइसकेका छन् । प्रधानमन्त्री ओली अझै पनि मिलेसम्म सुवास नेम्वाङलाई नै यो पदमा ‘सेटल’ गर्न चाहन्छन् ।