पोखरा – उच्च अदालत पाटनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य माइला लामालाई रिहा गर्न गरेको आदेश लगतै आइतबार दिउँसो पुनः पक्राउ गरेको छ। लामासहित चारजना नेकपाका नेताहरू रिहा भएलगत्तै पुनः पक्राउ परेका हुन्।
जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले बिहीबार उनीहरूलाई रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशपछि उनीहरू सबैजनालाई आतबार अदालतमा उपस्थित गराइएको थियो। तर, अदालतबाट रिहा भएलगत्तै लामासहित नेकपा केन्द्रीय सदस्य नवीन विश्वकर्मा, तत्कालीन काठमाडौं सेक्रेटरी धीरेन्द्रा उपाध्याय र ईश्वर परियारलाई अदालत परिसरबाटै पक्राउ गरेहो हो।
पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले छोड्न आदेश दिए लगत्तै ललितपुर प्रहरीले लामालाई पक्राउ गरेको हो। मुख्य न्यायाधीश सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले लामासहित केन्द्रीय सदस्य नवीन विश्वकर्मा, अनेमसंघ (क्रान्तिकारी) कि महासचिव धिरेन्द्राकुमारी उपाध्याय र ईश्वर परियारलाई बिहीबार छाड्न आदेश दिएको थियो। उनीहरुमाथि ललितपुरको नख्खु विष्फोट प्रकरणमा मुद्दा चलाइएको थियो।
अदालतको आदेश लगत्तै हतकडी लगाइएका लामाले पत्रकारसँग कुरा गर्दै राज्यको कानुनमाथि नै प्रश्न गरेका छन्। ‘प्रहरी अफिसर साथीहरु उहाँहरुलाई केही भन्नु छैन’, लामाले भने, ‘बिडम्बनापूर्ण छ, नेपालको कानुन कस्तो हो ? त्यही भएर त देशको यो दुरदशा भएको छ।’
सुनसरीमा उनीहरुको नाममा अर्को हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा रहेकाले नियन्त्रणमा लिएको ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले जानकारी दिए। प्रहरीले लामासहितका चारै जनालाई सुनसरी पठाउने तयारी गरेको छ।
यसअघि ललितपुर जिल्ला अदालतले एनसेल मुख्यालयमा भएको बम विस्फोटको घटनामा र राज्यविरुद्धको अपराधमा संलग्न रहेको भन्दै उनीहरूलाई पुर्पक्षामा पठाउने फैसला गरेको थियो।