पोखरा- नेपाल प्रहरीको भावी आइजिपीको रुपमा सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवालीलाई अगाडी सरेको छ ।
माघ २९ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदैछन्। वरियता र वरिष्ठताका आधारमा ज्ञवालीलाई सरकारले नेपाल प्रहरीको नयाँ आईजिपी बनाउने तयारी गरेको हो।
२०४६ साल माघ २९ गते खनालसँगै प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हालका तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र १८ जना डीआईजीले पनि एक सातापछि सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदैछन्।
यो अवकाशपछि नेपाल प्रहरीमा आईजिपीसँगै तीन एआईजी र १८ डीआईजीको पद पनि रिक्त हुनेछ। खनालको ब्याजले अवकाश पाएपछि ज्ञवाली ज्येष्ठता र वरिष्ठताका आधारमा सबैभन्दा वरिष्ठ डीआईजी हुनेछन्।
ज्ञवालीले २०४७ साल असार २५ गते प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन्। ज्ञवालीलाई सरकारले नियुक्त गरे उनले करिब पाँच महिना नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन्। त्यसपछि उनले सेवा अवधिका कारण अनिवार्य अवकाश पाउनेछन्।
विवादमा नपरेका, भ्रष्टाचारमा बदनामी नकमाएका र वर्तमान नेकपाको सरकारमा रहेका मन्त्री एवम् सो पार्टीका शीर्ष नेताहरूसँग नजिकको सम्बन्ध भएका कारणले पनि ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षकमा पक्का नै देखिन्छन् । ठाकुर ज्ञवालीको पुख्र्यौली घर प्यूठान हो । उनका बाबु शिक्षक भएका कारणले पनि उनका शिष्यहरू अहिले नेकपाको शक्तिकेन्द्रमा छन् । वामदेव गौतम, कृष्णबहादुर महरा, मोहन वैद्य ठाकुरका पिताका चेलाका रूपमा चिनिन्छन् ।
त्यसैगरी नेकपाका महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, वनमन्त्री शक्ति बस्नेत एवं नेताहरू जनार्दन शर्मादेखि पम्फा भुसालसम्म ठाकुर ज्ञवालीको नजिकको सम्बन्ध र उठबस रहेको छ । केही दिनअघिमात्रै पनि ज्ञवाली काठमाडौँ आई प्रधानमन्त्री केपी ओलीदेखि अन्य नेकपाका शीर्ष नेताहरूलाई भेट गरिसकेका छन् । हाल प्रदेश नम्बर १ को कमाण्ड सम्हालिरहेका डिआइजी ज्ञवालीले प्रहरीको नेतृत्व सम्हाल्ने निश्चित देखेपछि वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भने सकेसम्म ज्ञवालीलाई हुन नदिन लागिपरेका छन् ।