पोखरा – अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकाका काँग्रेस प्रतिनिधिसँगको भेटमा संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता जनाएका छन् । आज अर्थ मन्त्रालयमा संयुक्त राज्य अमेरिका काँग्रेसका सदस्यद्वय जर्ज होल्डिङ्ग र अमी बेरासँगको भेटमा मन्त्री खतिवडाले सो प्रतिवद्धता जनाएका हुन् ।
भेटमा अर्थमन्त्रीले एमसीसीअन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै द्धिविधा नभएको उल्लेख गर्दै सो सहायता सम्झौता संसदबाट अनुमोदन हुने विश्वास लिए ।
अमेरिकी कंग्रेसका सदस्यद्वयले अर्थमन्त्री समक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालको विकासले अमेरिकाको निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुन गएको धारणा राखेका थिए ।