राजनीति
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापालेे संसदमा गणित भए पनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेको भन्दै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजी नेपाल कम्युनिस्ट पार्टीको स्वास्थ्यको लागि र सिंगो नेपालको स्वास्थ्यको लागि तपाईं स्वास्थ्य लाभ गर्न गइदिनुहोस् ।’
बास्कोटाले कमिसन मागेको अडियो सार्वजनिक हुनुभन्दा डेढ महिनाअघि नै प्रधानमन्त्रीले सुनेको दाबी आइरहेको भन्दै यो विषयमा संसदमा आएर जवाफ दिन प्रधानमन्त्रीलाई आग्रह गरे । ‘संसदमा आएर, उभिएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रो प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्री ज्यूसँग छ कि छैन् ?’ थापाले भने, ‘प्रधानमन्त्री ज्यूसँग हिम्मत छ कि छैन मलाई थाहा छैन तर संसदसँग यो हिम्मत हुनै पर्छ । ध्यानाकर्षण मात्रै होइन सभामुख महोदय संसदले यो सामर्थ्य राख्नै पर्छ । सम्मानीय प्रधानमन्त्री डाँडाकाँडा डुलेर बस्ने होइन । ताल तलैया हेरेर बस्ने होइन् । सदनमा आउनुपर्छ । यहाँ उभिनुपर्छ प्रश्नको सामना गर्नुपर्छ । हामी यहाँ बसेर निम्छरो होइन् सही प्रश्नहरु सोध्नेछौँ ।’
‘प्रधानमन्त्रीले के भन्छन् भन्ने थाहा नभए पनि आसेपासेहरुले थाहा थिएन भन्न थालेको उनले सुनाए । ‘प्रधानमन्त्रीको चुलो चलाउने, प्रधानमन्त्रीको तुलोमा राख्दै गर्दा कसैले नभ्याउने अनि प्रधानमन्त्रीका भनाइमा काभ्रेले अहिलेसम्म जन्माएको सर्वाधिक प्रतिभाशाली प्रधानमन्त्रीको प्रवक्ताले गर्नुभएको यी कुराहरु प्रधानमन्त्रीलाई थाहा थिएन भनेर हामीले पत्याउनुपर्ने ?’ उनले भने, ‘पत्याउने हो भने हाम्रो प्रश्न रहन्छ, सबैकुरा तपाईलाई थाहा छैन भने प्रधानमन्त्रीजी तपाईंलाई के थाहा छ ?’
‘सेक्युरिटी पि्रन्टिङ प्रेससँगै फोर जी विस्तार, अप्टिकल फाइबर विस्तार, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापनालगायतका ठेक्काबारे सबै कुरा थापा भए पनि अहिले परिस्थिति नियन्त्रण बाहिर गएपछि बास्कोटा बलिको बोको भएको भनेर नागरिकले भनिरहेका छन्,भन्दै थापाले प्रधानमन्त्री ओलीमाथि प्रश्न गरेका छन् ।