राजनीति
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी पूर्वगृहमन्त्री एंव नेकपाका सांसद जर्नादन शर्मा ‘प्रभाकर’ ले सरकारले जारी गरेको नेपाल ट्रष्टको स्वेतपत्रमा आफ्नो नाम आएको भन्दै आपत्ति जनाएका छन् । उनले आफुँ मन्त्री नै नभएको मितिमा आफुँबाट निर्णय भएको भनेर लेखिएको भन्दै स्वेतपत्रमाथि गम्भिर प्रश्न उठाए ।
‘असोज ३० गतेमा म गृहमन्त्रीको जिम्मेवारीबाट हटेको छु । असोज ३० गते नै मैंले पत्रकार सम्मेलन पनि गरें । त्यो दिनै मलाईं विना विभागिय जिम्मेवारीमा पठाइएको छ र म मन्त्री नै छैन् ।’
प्रतिनिधि सभाको बिहिबारको बैठकमा बोल्दै शर्माले भने, ‘मन्त्री नै नभएको मान्छेको जबरजस्ती नाम लेखिने कुरा र कर्मचारीहरुले होइन भन्दा भन्दै लेखिनुको कारण के ? लेख्नुपर्ने नाम किन लेखिएन ?’
प्रभाकरले सरकारले जारी गरेको स्वेतपत्र स्वतेपत्र नभई ‘अस्वेतपत्र’ भएको बताए ।
प्रभाकर २०७४ असोज ३० गते गृहमन्त्रीको पदबाट हटेका थिए । नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार सार्वजनिक गरेको श्वेतपत्रमा ताहाचाल सोल्टी आउटर कम्प्लेक्सको जग्गा यती समूहको थामसेर्कु ट्रेकिङलाई लिजमा दिने प्रस्ताव स्वीकृत गर्दा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रष्टको संरक्षक र गृहमन्त्री जनार्दन शर्मा अध्यक्ष रहेको उल्लेख गरिएको थियो ।
तर शर्माले भने आफू गृहमन्त्री नभएको बेला भएको निर्णयमा नाम मुछिएकामा आपत्ति जनाए । श्वेतपत्रअनुसार यसबारे थामसेर्कुको प्रस्ताव स्वीकृत गर्ने निर्णय कात्तिक १३ गते २०७४ मा भएको थियो ।
उनले अघि भने, ‘मलाई तर्साउन खोजिएको हो ? आत्मसमर्पण गराउन खोजेको हो ? म असत्यसामू आत्मसमर्पण गर्दिनँ । तर्सिन्न पनि । सरकारले मलाई त ढाँट्न सक्ला तर जनतालाई ढाट्न सक्छ ? किमार्थ सक्दैन ।’
आफ्नै पार्टीको सरकार भएको र सरकारलाई सफल बनाउन सहयोग गर्दागर्दै झुटा आरोप लगाएको भन्दै पूर्वमन्त्री शर्माले विश्वासको संकट भएको बताए । उनले भने, ‘लेख्नुपर्ने नाम नलेख्ने, नलेख्नुपर्ने ठाउँमा लेखेर मिडियाबाजी गराउने किन गरियो ? यसबारे रक्षामन्त्री र प्रधानमन्त्रीको जवाफ चाहियो ।’