logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बास्काेटालाई तत्काल कार्वाही गर : ट्रान्सपरेन्सी इन्टरनेशनल


  • राजनीति
  • शुक्रबार, फाल्गुन १६ २०७६

७० कराेडकाे कमिसन मागेकाे अडियाे सार्वजनिक भएपछि पदबाट राजिनामा दिएका तत्कालीन सन्चार मन्त्री गाेकुल प्रसाद बास्काेटा बिरुद्ध कुनै पनि बाहाना नगरि कार्वाही गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल ले माग गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भ्रष्टाचार प्रकरणमा संग्लग्न तत्कालीन मन्त्री गोकुल बाँस्कोटासहित अन्य मतियारहरुलाई कुनै पनि शक्ति केन्द्रको दवाव र प्रभावमा नपरी निष्पक्ष तथा निर्भिकतापूर्वक यथाशीघ्र कारवाही प्रकृया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष खेमराज रेग्मीले सरकारले भ्रष्टाचार विरुद्व शून्य सहनशिलताको नीति अपनाउने घोषणा गरे पनि व्यवहारमा त्यो नदेखिएको बताएका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै उनले कहिले मन्त्रिपरिषद्को नीतिगत निर्णयका नाममा त कहिले सरकार–सरकारका बीचमा हुने खरिद सम्झौताका नाममा एकपछि अर्को हुँदै पटक–पटक अनियमितता र भ्रष्टाचारका प्रकरणले वर्तमान सरकारको भनाइ र गराईमा सामान्जस्यता नदेखिएको अनुभूति हुन थालेको जनाएका छन् ।

हालै मात्र सेक्युरिटी प्रेस खरिद प्रकरणमा तत्कालीन बाँस्कोटा र दलालका बीचमा ७० करोडभन्दा बढि रुपैयाँ कमिशनको नाममा भ्रष्टाचार गर्ने बदनियतबाट बार्गेनिङ्ग भइरहेको श्रव्य सामाग्री प्रचारमा आएपछि सुशासन र समृद्धिको नारा दिइरहेको वर्तमान सरकारको विश्वसनीयता माथि समेत ठूलो प्रश्न चिन्ह खडा भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीको अति विश्वास प्राप्त मन्त्रीबाटै नेपाली जनताको खुन पसिनाको कमाइबाट संकलित राजस्वको ठूलो रकम दलालसँगको मिलिभगतमा भ्रष्टाचार गर्न लागिएको दुष्प्रयासलाई गम्भीर अपराधको रुपमा लिनुपर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको भनाइ छ । विभिन्न शक्ति केन्द्र का आडमा बास्काेटा माथिकाे कार्वाही प्रक्रिया कमजोर हुनसक्ने प्रति चिन्ता व्यक्त गर्दै तत्काल कार्वाही प्रक्रिया अगाडि बढाउन माग गरेको हाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार