logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ज्येष्ठ नागरिकलाई राहतस्वरुप १० हजार दिइने


  • राजनीति
  • शुक्रबार, चैत्र १४ २०७६

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशभरका पुनःस्थापना केन्द्र, वृद्धा आश्रममा रहेका ज्येष्ठ नागरिकलाई राहत स्वरुप तीन महिनाका लागि मासिक रु १० हजार प्रदान गर्ने तयारी गरेको छ ।

विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि सरकारले लकडाउन गरेको अवस्थामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका करिब एक हजार ५०० ज्येष्ठ नागरिकलाई उक्त राहत दिने तयारी गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले रासससँग कुरा गर्दै भने, “ज्येष्ठ नागरिकको रोगसँग लड्न प्रतिरोधात्मक क्षमता पनि कम हुन्छ, उनीहरुलाई राम्रो खानपानका लागि राहतस्वरुप मासिक रु १० हजार दिने तयारी गरेको हो ।”

मन्त्रालयको उक्त प्रस्तावलाई कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पास गरेपछि काम अघि बढ्ने छ ।

मन्त्रालयले उक्त भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि पशुपति वृद्धा आश्रम, खगेन्द्र नवजीवन केन्द्र, मङ्गला सहाना पुनःस्थापना केन्द्रलागयत ठाउँमा र अपाङ्गता भएका व्यक्ति र अनाथलयमा सेनीसाइटार, मास्क, साबुनलगायत सुरक्षासँग सम्बन्धित सामग्री वितरण आवश्यक व्यवस्था मिलाएको छ ।

“रोगसँग लड्ने क्षमता ज्येष्ठ नागरिकमा कम हुन्छ, अपाङ्गता भएका व्यक्ति, सुत्केरीलाई विशेष व्यवस्था गर्न विशेष मन्त्रालयले आह्वान गरेको छ”, मन्त्री गुरुङले भने, “सम्वेदनशील व्यक्तिलाई घरमा पनि छुटै कोठामा राख्न आग्रह गर्छु, बाहिरबाट गएका व्यक्तिको सम्पमै नआउन र सरसफाइ ध्यान दिन आग्रह गर्छु ।”

मन्त्रालयका उपसचित भरतराज शर्माका अनुसार देशभरिको वृद्धाआश्रममा रहेका ज्येष्ठ नागरिकलाई तीन महिनाको राहत उपलब्ध गराउने तयारी भएको र सोही अनुपातमा अपाङ्गता भएका, बालगृहमा बसेका बालबालिका र मानव बेचबिखन परेकालाई राहत उपलब्ध गराउन तथ्याङ्क सङ्कलनको काम भइरहेको छ ।

मन्त्रालयले महिला तथा बालबालिका विभागमार्फत कोरोना हेल्थ डेक्स सञ्चालन गरिहेको छ भने मन्त्रालयको मोबाइल टोलीले काठमाडौँ, भक्तपुर र ललितपुर सेवा दिइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार