logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

काेराेना बिरुद्धकाे लडाइँ जितिने छ : राष्ट्रपति भण्डारी


  • राजनीति
  • शनिबार, चैत्र २२ २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको लडाइँमा सरकारलाई साथ दिन सबैलाई अपिल गरेकी छिन् । कोरोना भाइरसका कारण सिंगो धर्ती युद्ध मैदान जस्तै भएको भन्दै उनले यो लडाइँमा मानवजाति विजयी हुने विश्वास व्यक्त गरिन् ।

शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘कुनै भावनामा नबगी कोरोना भाइरसको गाम्भीर्यलाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन अपिल गर्छु ।’

राष्ट्रपति भण्डारीले हाम्रो संयमताले नै सिंगो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने भएकाले सबैले यस पक्षमा ध्यानदिनु अति आवश्यक रहेको बताइन् ।

संसारका सबैजसो मुलुकमा फैलिइरहेको यस महामारीबाट नेपाल अछुतो रहननसके पनि सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै संक्रमण फैलन नपाएको उनले बताइन् ।

‘कोरोनाविरुद्धको लडाइँ जितिनेछ’

महामारीका बेलामा सबैभन्दा जोखिमयुक्त अग्रमोर्चामा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलगायतको उनले प्रशंसा गरिन्। उनले भनिन्, ‘तपाईंहरूको साथमा राज्य छ र आमजनताको गहिरो शुभेच्छा सधैं रहिरहनेछ ।’

कोरोना भाइरसका कारण सिंगो धर्ती युद्ध मैदान जस्तै भएको महसुस हुन्छ भन्दै राष्ट्रपति भण्डारीले कोरोना भाइरसविरुद्धको यो लडाइँमा मानवजाति विजय हुने विश्वास व्यक्त गरिन्।

उनले कोरोनाबाट संक्रमित भइ उपचाररत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार