राजनीति
सत्तारूढ नेकपाका नेता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले पाँच वर्षको लागि सरकार चलाउनको लागि जनताले नेकपालाई जनमत दिएको भन्दै अहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजिए मुलुक दुर्घटनामा फस्ने चेतावनी दिएका छन् । आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमालसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेकपालाई अहिलेको जनमतपनि केपी ओलीको कारणले दिएको दाबी गरे । उनले भने,”नेकपाको अहिलेको मत त्यतिकै आएको होईन । जनताले केपी ओलीको लागि यो मत दिएका हुन् ।” उनले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री हुनको लागि म्याण्डेट नै नभएको जिकिर गरे । उनकाअनुसार प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री बनाउनेगरि प्रस्ताव गरेपनि अहिले नै यो सम्भव छैन् ।
उनले वामेदवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव कार्यान्व्यन गर्न जटिलता रहेको सुनाए । राष्टियसभा सदस्य मनोनित गर्दापनि प्रधानमन्त्री हुन नसक्ने र प्रधानमन्त्री बन्नको लागि संविधान संशोधन गर्न नेकपासँग दुई तिहाई बुहमत नरहेको उनको भनाई छ । अर्को, चुनावमा जाने हो । चुनाव जितेर संसदमा आउन नै निकै लामो समय लाग्ने उनको जिकिर गर । उनले भने,”वामदेवजी तत्काल प्रम बन्नुहुन्न । गुरुङले केपी ओली नै ५ वर्षको लागि प्रधानमन्त्री भएकोले उनको विकल्प खोज्न नहुने धारणा राखे ।
उनले प्रधानमन्त्री ओलीजति कसैले पनि काम नगरेको पनि दाबी गरे । अहिले ओलीलाई जनताले नरुचाएको र आलोचना भएको छ भन्ने कुरा उनले आफू मान्न तयार नभएको भन्दै ओलीको लोकप्रियता परीक्षण गर्न जनमतसंग्रहमा जानपनि सुझाएका छन् । ७० प्रतिशत जनता अहिलेपनि केपी ओलीको पक्षमा रहेको उनको दाबी छ ।
ओलीलाई अध्यक्षबाट कसैलेपनि हटाउन नसक्ने बताउँदै महाधिवेशन नभएसम्म ओलीमात्रै नभएर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि कसैले हटाउन नसक्ने उनको भनाई छ । दुवै अध्यक्ष सहमतिले अर्को महाधिवेशन नभएसम्मका लागि अध्यक्ष भएको उनले जनाए । उनले भने,”केन्द्रीय कमिटीले अध्यक्ष हटाउन सक्दैन् । महाधिवेशन नभएसम्म हटाउन सकिँदैन् । बरु, सहमति भयो भने तेस्रो अध्यक्ष राख्न चाहीँ सकिन्छ ।