राजनीति
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हिजो मात्र बसेको स्थायी कमिटी बैठक वैशाख २५ गते बस्ने भएको छ । शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यद्यपि वामदेव गौतमलाइ पाल्पा बाट निर्वाचन लडाउने नेकपाले सहमती गरेको खुलेको छ ।
‘पार्टीको एकता, सहमति र समस्या समाधानको निष्कर्ष अनुरुप पार्टीलाई दिशानिर्देशित गर्नेगरी स्थायी कमिटीको बैठक यही वैशाख २५ गते ११ बजे बस्ने निर्णय भएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘त्यसको तयारीका लागि वैशाख २४ गते सचिवालय बैठक बस्नेछ ।’
बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । ‘उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय भएको छ’, प्रवक्ता श्रेष्ठले भने ।
प्रधानमन्त्री ओलीले गौतमलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेसँगै यो निर्णय सचिवालय बैठकले गरेको हो ।
उपाध्यक्ष बामदेव गौतमका लागि पाल्पा निर्वाचन क्षेत्र नम्बर–१ खालि गराएर प्रतिनिधिसभामा लैजाने सहमति बनेपछि नेकपाभित्रको समिकरण फेरिएको हो । नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा लागेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गठबन्धनमा सामेल भएका उपाध्यक्ष बामदेव गौतम अन्तिम समयमा आएर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा पुग्नुभएको छ ।
पाल्पा निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित साँसद दलबहादुर रानालाई राजिनामा गर्न लगाएर उक्त क्षेत्रबाट गौतमलाई निर्वाचित गराएर प्रतिनिधिसभामा लैजाने महासचिव विष्णु पौडेलले तारतम्य मिलाएपछि गौतम प्रम ओलीको पक्षमा उभिनु भएको हो ।
गएको वुधबार बसेको सचिवालय वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदत्याग गर्नुपरे कोभिड १९ महामारीपछि बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने गरी पदत्याग गर्ने प्रस्ताव गर्नुभएको थियो ।