logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

४० मिनेट ओली दाहालकाे ‘खासखुस’ले नेकपाको नयाँ मोड


  • राजनीति
  • आइतबार, बैशाख २१ २०७७

शनिबार बेलुका ४ बजेका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक डेढ घण्टा पछाडि धकेलेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुईजना महत्वपूर्ण व्यक्तित्वसँग वार्तालाप गरे- पहिले राष्ट्रपति विद्यादेवी भण्डारी, त्यसपछि कार्यकारी अध्यक्ष प्रचण्ड ।

शीतलनिवासमा राष्ट्रपतिलाई करिब आधा घण्टा भेटेर फर्केका प्रधानमन्त्री ओलीले सचिवायलको बैठक सुरु हुनुअघि प्रधानमन्त्रीनिवासकै गोप्य कोठामा प्रचण्डसँग करिब ४० मिनेट खासखुस गरे ।

सचिवालयका नेताहरुले कुरिरहेका बेला दुई जना अध्यक्ष आपसी सहमति गरेर गत बुधबारको भन्दा उज्यालो मुद्रामा बैठकस्थलमा आए ।

दुबै अध्यक्षले सहमतिमा जाने कुरा गरिसकेपछि वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीबाट आत्मालोचित हुने र पार्टीलाई एकतावद्ध बनाउने प्रस्ताव सही भएको बताए । तर, स्थायी कमिटीको बैठक बोलाउनैपर्नेमा उनले जोड दिए ।

अर्का नेता माधवकुमार नेपाल भने दुबै अध्यक्षको कुरामा खासै ढुक्क देखिएनन् । बैठकको परिदृश्यबारे जानकारी दिँदै सचिलालयका एक सदस्यले भने, ‘प्रचण्डजी नरमरुपमा प्रस्तुत हुनुभयो, तर माधव कमरेडमा भने अझै पनि केही आशंकाहरु देखिए ।’

माधव नेपालले प्रधानमन्त्रीलाई ‘बेनिफिट अफ डाउट’ (शंकाको सुविधा) दिने बताएको स्रोतको भनाइ छ ।

दुबै अध्यक्षले सहमतिका साथ अगाडि बढ्नुपर्ने बताएपछि उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्रीप्रति समर्थन जनाए । साथै उनले पार्टीमा गुटबन्दीको अन्त्य गर्नुपर्ने बताए ।

अर्का नेता ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलले पनि पार्टीलाई एकतावद्ध बनाउनुपर्ने बताउँदै प्रधानमन्त्रीको भनाइमा समर्थन जनाए । अर्का सचिवालय सदस्य रामबहादुर थापा बादलले पार्टीमा रुपान्तरण जरुरी भएका बेला राम्रो निर्णय आएको बताए ।

पार्टीका प्रवक्तासमेत रहेका अर्का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टी एकताको उद्देश्य पूरा गर्ने ढोका फेरि खुलेको बताए । तर, पार्टीमा फुटको तरंग कसले र कसरी ल्यायो भनेर प्रश्न गरे । भैंसेपाटीमा बसेको बैठकमा राजनीतिक दल फुटाउन सहज बनाउने अध्यादेश फिर्ता लिन लगाउने र नमाने स्थायी कमिटी बैठक राखेर भए पनि फिर्ता गराउने निर्णय भएको स्मरण गर्दै श्रेष्ठले बैठकमा भने, ‘तर केपी कमरेडलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिन लगाउने सन्देश कहाँबाट सम्प्रेषण भयो ?’

नेतृत्वको बोली छिनछिनमा किन फेरियो भन्ने प्रश्न गर्दै श्रेष्ठले अब व्यक्तिस्वार्थ केन्द्रित पार्टी संघर्षको औजार बनाउने बैठकहरुमा भाग नलिने घोषणा बैठकमा गरेको एक सचिवालय सदस्यले जानकारी दिए ।

सचिवालयको निर्णय सञ्चारकर्मीहरुलाई सुनाउँदै बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्दति र कम्युनिस्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय लिएका छौं ।’

श्रेष्ठले अगाडि भने, ‘पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरुमा जे-जति कमीकमजोरी भएका छन्, त्यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलेसमेत आत्मालोचना गर्नुभएको छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार