logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

दाहाल नेपाल निकटकाे धुम्बाराहीमा भेला, ओली बिरु’द्ध निर्णायक प्रस्तुत हुने


  • राजनीति
  • बिहिबार, बैशाख २५ २०७७

पूर्वनिर्धारित स्थायी कमिटी बैठक अनिश्चतकालका लागि स्थगित भएपछि नेकपाभित्र असन्तुष्टि फेरि पोखिन थालेका छन् । बिहीबार नेकपाका २० स्थायी कमिटी सदस्य पार्टी मुख्यालय धुम्बाराहीमा भेला गरेका छन् ।

बैशाख १० मा पत्र लेखेर दुवै अध्यक्षलाई बैठक बोलाउन माग गरेका २० नेता बिहीबार पार्टी मुख्यालयमा भेला भएर आगामी रणनीतिबारे छलफल गरेका हुन् ।
‘सचिवालयले स्थायी कमिटी बैठकका एजेण्डा/प्रस्ताव तय गर्न नसकेर आज बस्ने भनिएको बैठक स्थगित गर्‍यो । त्यसकारण बैठकका एजेण्डा तय गर्न सचिवालयलाई सहयोग गर्ने र तत्काल बैठक बोलाउन दवाव दिनेगरी धुम्बाराही पार्टी कार्यालयमा छलफल गरेका हौं,’ स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने, ‘हामी २० जनाले पत्र लेखेर नै बैठक बोलाउन माग गरेका थियौं । हामीले अडान छाडेका छैनौं, बैठक बोलाउनु पर्छ ।’

उनीहरुले मंगलबार दिउँसो पनि ललितपुरको एक रेष्टुरेष्टमा भेला गरेका थिए । पार्टीको विधान, पद्धति र प्रक्रिया तथा निर्णय एवं प्रतिबद्धता विपरीतका क्रियाकलाप भएको भन्दै त्यसलाई सच्चाउनुपर्ने उनीहरुको निश्कर्ष छ ।

मंगलबार नै उनीहरुले स्थायी कमिटीमा छलफलका लागि भन्दै केही बुँदासमेत तयार पारेका थिए । बैठकमा सहभागी नेताहरुले सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको, मन्त्रीहरु नै विभिन्न भ्रष्टाचारमा संलग्न भएको, प्रधानमन्त्रीले यस्ता विषयमा क’ठोरतापूर्वक छानबिन नगरेको, पार्टी फुटाउनका लागि अध्यादेश ल्याएको, सांसद अपहरण जस्तो मुद्दालाई नजरअन्दाज गरेको, कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । दुई विवादास्पद अध्यादेश ल्याउनुको कारण के थियो भनेर उनीहरुले प्रधानमन्त्रीसँग प्रश्न सोध्ने तयारीसमेत गरेका थिए ।

उनीहरुले नेपाल सरकार तथा अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताको प्रावधानमा संशोधनका लागि अर्थमन्त्रीले एमसीसीसँग गोप्यरुपमा पत्राचार गरी संसदकै विशेषाधिकारको हनन गरेकासमेत ठहर गरेका छन् ।

अधिकांश राजनीतिक नियुक्तिहरु तथा अवसरको वितरण सामाजिक न्याय, देश, जनता र पार्टीको हितभन्दा गुट, सत्ता र शक्तिको लागि गरेकोसमेत उनीहरुको आरोप छ ।

पत्र लेख्ने र भेला गर्ने २० स्थायी कमिटी सदस्यहरुमा अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण बिष्ट, चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ देवेन्द्र पौडेल, पम्फा भुसाल, बेदुराम भुसाल, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मणिचन्द्र थापा, मातृका यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लिलामणी पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे र हरिबोल गजुरेल छन् । उनीहरु नेकपामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिन्छन् ।

वैशाख २० गते बसेको नेकपा सचिवालयको बैठकले स्थायी कमिटी बोलाउने निर्णय गरेको थियो । तर, बुधवार बसको सचिवालय बैठकमा स्थायी कमिटी पेस गर्ने एजेन्डा र प्रतिवेदनवारे विवाद भएपछि बैठक अनिश्तकालका लागि रोकिएको छ । स्थायी कमिटी बैठक बोलाउन अनिच्छुक ओली सचिवालयको बैठकको बीचमै उठेर हिँडेका थिए । अब दुई अध्यक्षको सहमतिपछि मात्रै बैठकको मिति तय हुनेछ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आन्तरिक गृहकार्य नपुगेकाले बिहीबारका लागि बोलाइएको पार्टीको स्थायी कमिटी बैठक स्थगित भएको बताएका छन् । २० स्थायी कमिटी सदस्यहरुको भेला पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको बेला नेकपा अध्यक्ष दाहालले एक दुई दिनभित्र स्थायी कमिटीको बैठक बोलाउने बताएका छन् ।

बिहीबार संसद भवनमा प्रतिक्रिया दिंँदै दाहालले भने, ‘आन्तरिक गृहकार्य नपुगेर बैठक बस्न सकेन । अलि गृहकार्य नपुगेकै हो । दुवै अध्यक्षले छलफल गरेर बैठक एक दुई दिनभित्र बोलाउँछौं ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार