राजनीति
दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । भारतले नेपाली भूमि कालापानी(लिपुलेक क्षेत्र अतिक्रमण गरी तिब्बतको मानसरोवर जाने सडक बनाइरहेको नजिकै दार्चुलाको ब्यास गाउँपालिका १ स्थित छाङरुमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट छाङरुगागाको स्थापना भएको हो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाद्वारा बुधबार सो बोर्डर आउट पोष्टको उद्घाटन गरिएको हो । सीमारक्षाका लागि सरकारले त्यस क्षेत्रमा सशस्त्रको टोली पठाउन निर्णय अनुसार सशस्त्रले २५ जनाको टोली बिओपीमा खटाएको छ ।
प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोलीले अब कालापानी क्षेत्रको सीमा सुरक्षाको काम गर्नेछ । सशस्त्रले आफ्नो काम सुरू भएसँगै अस्पतालसहितको भौतिक संरचना समेत बनाउने भएको छ ।
नेपाली भूमि अतिक्रमण गरी भारतद्वारा अनधिकृत रूपमा तिब्बतको मानसरोवर जाने सडक गत शुक्रबार रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ ।
राजनीतिक दल, तीनका भ्रातृ संस्था, नागरिक समाज सबैले एकस्वरले अतिक्रमित भूमि फिर्ता गर्न भारतसँग माग गर्दै राष्ट्रिय सीमा रक्षा गर्न सरकारलाई दबाब दिँदै आएका छन् । यस विषयमा सत्तारूढ र प्रतिपक्षी दुवै दलका सांसदले प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता समेत गरेका छन् ।