राजनीति
पुर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पार्टीमा छलफल नै नगरी संसदमा लगे ठूलो दुर्घटना हुने चेतावनी दिएका छन् । रातोपाटीसँग संक्षिप्त कुरा गर्दै नेता खनालले पार्टीमा छलफल नभइकन एमसीसी अगाडि बढ्नै नसक्ने भन्दै त्योभन्दा अरु ढङ्गले अगाडि बढ्न खोजे दुर्घटना हुने बताएका हुन् ।
‘पार्टीमा छलफल नभइकन यो कुरा अगाडि बढ्नै सक्दैन । पार्टी कमिटीले निर्णय गरेरमात्रै अगाडि बढाइन्छ, बढाउनुपर्छ । त्योभन्दा अरु वा अन्यथा ढङ्गले अगाडि बढ्यो भने दुर्घटना हुन्छ’, नेता खनालको भनाई छ । उनले सकभर एमसीसीबारे केन्द्रीय कमिटीमै छलफल गर्नुपर्ने र यदि त्यसो गर्न नसकिए स्थायी कमिटीमा छलफल गरेर त्यसको निर्णयअनुसार मात्रै अघि बढ्न सकिने बताए ।
‘केन्द्रीय कमिटी बैठक अहिले आयोजना गर्न नसकिने हो भनेपनि स्थायी समितिको बैठक आयोजना गरेर त्यसमा छलफल गर्नुपर्ने हुन्छ । र, स्थायी समितिको बैठकले जे निर्णय गर्छ पार्टीको भ्वाइस त्यही हुन्छ । पार्टीको निर्णय पनि त्यही हुन्छ’, नेता खनालको दावी छ । यस्तो छ नेता खनालसँग गरिएको संक्षिप्त वार्ता :
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमै उभिएर एमसीसी संसदबाटै पास हुन्छ भन्नुभएको छ । तर तपाईं नेतृत्वको कार्यदलले एमसीसीबारे अध्ययन गरेर बुझाएको प्रतिवेदनमाथि अहिलेसम्म किन ठोस छलफल हुन नसकेको हो ?
सबभन्दा पहिलो कुरा त पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठकले कार्यदल बनाएर यसबारेमा अध्ययन गरेको छ । त्यसको प्रतिवेदन हामीले बुझाइसकेका छौँ । त्यो प्रतिवेदन हामीले दुईवटा अध्यक्षलाई दिएका छौँ । अब त्यो प्रतिवेदनबारे पार्टी कमिटीमा छलफल हुन्छ । त्यसमा पनि उत्तम केन्द्रीय कमिटीमा छलफल गरे राम्रो हुन्छ । तर केन्द्रीय कमिटी बैठक अहिले आयोजना गर्न नसकिने हो भनेपनि स्थायी समितिको बैठक आयोजना गरेर त्यसमा छलफल गर्नुपर्ने हुन्छ । र, स्थायी समितिको बैठकले जे निर्णय गर्छ पार्टी भ्वाइस त्यही हुन्छ । पार्टीको निर्णय पनि त्यही हुन्छ र त्यसलाई मात्र हामीले कार्यन्वयन गर्न सक्छौँ ।
प्रतिवेदन बुझाएको नै लामो भैसक्यो । तर पार्टीमा छलफल नै हुन सकेको छैन । उता एमसीसी सम्झौता अनुसार आगामी असार १६ भित्रै कार्यान्वयनमा जानुपर्ने बाध्यता छ । अब यति छोटो समयमा कहिले छलफल होला र पार्टीको निर्णय कार्यान्वयन होला त ?
यो समयभित्र काम गर्न सकिएन भने अर्को समय नै आउँदैन, समयको लिमिट हुन्छ भन्ने कुरा हुँदैन । समय निरन्तर छ । अहिले लकडाउन र कोरोना महामारीले सम्पूर्ण विश्व आक्रान्त भएको अवस्था छ । त्यसकारण केही कुराहरु स्थगित भएका छन् । त्यसैले यो कुरा पनि फेरि पुनर्विचार गरेर र छलफल गरेर अनि मात्रै हामी के गर्ने भन्ने निर्णयमा पुग्न सक्छौँ । हाम्रो पार्टीको तर्फबाट पार्टी कमिटीले छलफल गरेर निर्णय गरेपछि मात्रै बल्ल निष्कर्षमा पुग्न सकिन्छ ।
सरकारले यहि अधिवेशनबाट एमसीसी पास गर्ने तयारी गरेको भनेर प्रधानमन्त्रीले नै घोषणा गरिसक्नुभएको छ । यदि पार्टीमा छलफल नै नगरी संसदको कार्यसूचीमा प्रवेश भयो भने के गर्नुहुन्छ ?
तपाईंले कसरी थाहा पाउनुभयो ? कार्यसूचीमा जान्छ भनेर ?
प्रधानमन्त्रीले नै भनिसकेपछि त पत्याउनुपरेन ?
पार्टीमा छलफल नभइकन यो कुरा अगाडि बढ्नै सक्दैन । पार्टी कमिटीले निर्णय गरेरमात्रै अगाडि बढाइन्छ, बढाउनुपर्छ । त्यो भन्दा अरु वा अन्यथा ढङ्गले अगाडि बढ्यो भने दुर्घटना हुन्छ ।
सरकारले अगाडि बढाएर सासंदहरुलाई ह्वीप जारी गर्न पनि त सक्छ नि ?
त्यस्तो कल्पना नै नगर्नुस् । यो सरकार पार्टीको सरकार हो, सरकारको पार्टी होइन । पार्टीले जे निर्णय गरेर जुन निर्देशन दिन्छ, त्यो अनुसार सरकार चल्नुपर्छ । त्यो भन्दा अन्यथा ढङ्गले सरकार चल्न खोज्यो भने त्यो पनि दुर्घटनामा जाने कुरा हुन्छ । राताेपाटीबाट