राजनीति
भारतीय प्रधानमन्त्रीको सुरक्षाको लागि निकै कडा बनाइएको राजधानी काठमाडौमा नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले विरोध प्रदर्शन गरेको छ । अरुण तेस्रो भारतलाई दिने निर्णय राष्ट्रघाती भएको भन्दै नेकपाले विरोध जनाएको हो । शुक्रबार मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा अरुण तेस्रोको काठमाडौंबाट उद्घाटन गरेका थिए ।
सुरक्षा व्यवस्था निक्कै उच्च बनाइएको काठमाडौंमै नेकपाका कार्यकर्ता र सो निकट १४ संगठनले संयुक्त रुपमा सो बिरोध प्रदर्शन गरेका हुन् । नेकपा निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल किसान संगठन (क्रान्तिकारी), अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ, अनेरास्ववियु (क्रान्तिकारी), नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, संयुक्त उद्योग वाणिज्य महासंघ नेपाल, अखिल नेपाल शिक्षक संगठन, नेपाल उड्ययन तथा पर्यटन व्यवसायी संगठन, नेपाल निर्माण व्यवसायी संगठन, दलित मुक्ति मोर्चा, नेपाल र नेपाल राष्ट्रिय इन्जिनियर्स संगठनले संयुक्त रुपमा सो विरोध र्याली निकालिएको हो । उनीहरुले सुन्धाराबाट न्युरोडसम्म विरोध र्याली निकालेका हुन् । र्यालीमा उनीहरुले राष्ट्रिय स्वाधिनताको रक्षा गरौ, भारतीय साम्राज्यवाद मुर्दावाद, दलाल ओली सरकार मुर्दावाद लगायतका नारा लगाउदै प्रदर्शन गरेका हुन् । सरकार र मोदीको भ्रमणको विरोध स्वरुप प्रदर्शन गरेको र आगामी दिनमा थप शसक्त आन्दोलनका कार्यक्रम गर्ने अखिल क्रान्तिकारीका क्याम्पस जिल्ला संयोजक उषाकिरण ले जानकारी दिएका छन ।