राजनीति
नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीका विगतका अभिव्यक्तिहरु स्मरण गराउँदै गम्भीर प्रश्न उठाएका छन् ।
उनले हिजो अरुलाई लम्पसारवादी भन्ने केपी ओलीलाई आज सुपर लम्पसारवादी भन्न पाइने कि नपाउने भनेका छन् । साथै उनले विवेकशील साझा पार्टीको कार्यालयमा राखिएको ब्यानर बलपूर्वक हटाएकोमा पनि आपत्ति जनाएका छन् ।
थापाले अघि भने, ‘एमालेका युवाहरुले भारतीय दूतावास अगाडि गएर प्रदर्शन गर्न पाउने तर, आज कसैले आफ्नो पार्टीको कार्यालयमा ब्यानर राख्न नपाउने ? कसैले शान्तिपूर्ण प्रदर्शन गर्न नपाउने ? यो कस्तो लम्पसारदवाद हो ? यो कस्तो चाकडी हो ?’
चुनाव प्रचारका क्रममा एमाले अध्यक्ष ओलीले ‘राष्ट्रवादको जिम्मा मैले मात्र लिएको छु’ भन्दै हिँडेको स्मरण गराउँदै सांसद थापाले भने, ‘हिजो अरुलाई कुरीकुरी गर्नुभएको थियो । आज नाङ्गै हिड्नु भएको हामीले देखाउनुपरेको छ ।’