राजनीति
नेपाली सेनाले दुईजना उच्च अधिकारीलाई बुधबार बर्खास्त गरेको छ। अमेरिकाबाट नेशनल डिफेन्स कोर्स(एनडिसी) गरेर फर्केका सहायक रथी डाक्टर सुरेन्द्र सिंह रावल र एनडिसी तयारी गरिरहेका महासेनानी अनिल खड्कालाई सैनिक मुख्यालयले बर्खास्त गरेको हो।
नेपाली सेनाका उपरथी शुर्वण शाहको अध्यक्षतामा गठित सैनिक समरी अदालतले यस्तो निर्णय लिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताएका छन्।
रावल र खड्कालाई सैनिक आचरण विपरीत गतिविधि गरेको ठहरसहित बर्खास्त गरिएको हो। बर्खास्तमा परेका दुवैजना बढुवाको प्रक्रियामा रहेका उच्च अधिकारी हुन्।
इन्जिनियरिङ पृष्ठभूमिका सहायक रथी रावल र महासेनानी खड्काले सेनाको नीति निर्देशनालयमा रहँदा आदेश पालना नगरेको आरोप लागेको थियो। त्यही क्रममा उनीहरुलाई दोषी ठहर गरिएको हो।
सेनाले नीति निर्देशनालयमा प्रधानसेनापतिका नजिकका अधिकृतहरूलाई जिम्मेवारी दिने गरेको छ। दुवै जनामाथि व्यक्तिगत फाइदा हेरेर प्रधानसेनापतिको आदेश विपरित गतिविधि गरेको आरोप थियो।
‘हायर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्ष’को मूल्याङ्कन प्रणाली पुनरावलोकनबारे प्रधानसेनापति पूर्णचन्द्र थापाले दिएको निर्देशनको दुवैले अवज्ञा गरेको ठहर सैनिक अदालतले गरेको छ।
‘माथिल्लो तहबाट भएको आदेश पालना नगरेको ठहर भएको छ। सैनिक अनुशासन उल्लंघन गरेको कसुरमा जनरल सैनिक समरी अदालतले दोषी ठहर गरेपछि बर्खास्त गरिएको हो’, पाण्डेले भने।
