logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भाइरल फोटो प्रती नेपाली सेनाको ध्यानाकर्षण


  • राजनीति
  • बिहिबार, असार २५ २०७७

पछिल्लो समय सामाजिक सञ्जालमा सैन्य आधार तालिम समाप्त गरेका दुई सैनिक (महिला र पुरुष) को तस्बिर पोष्ट गरी भ्रामक तथा नकारात्मक टिकाटिप्पणीप्रति नेपाली सेनाले आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै सेनाले ती दुई तस्बिर पोष्ट गरी भएका टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

सामाजिक सञ्जालमा भाइरल भएका ती दुई व्यक्तिको तस्बिरको वास्तविक परिचय समेत सेनाले खुलाएको छ । उनीहरु २०७६ साल पुस १ गतेदेखि २०७७ साल असार १९ गतेसम्म भक्तपुरको सूर्यविनायकस्थित वीरदल गणमा सञ्चालन भएको सैन्य आधार तालिम पुरा गरेका रुपन्देही स्थायी ठेगाना भएका सिपाही सम्झना थारु र कपिलवस्तु स्थाई ठेगाना भएका सिपाही सुवास थारु भएको जनाइएको छ ।

सेनाले उनीहरुको उचाईको सम्बन्धमा समेत स्पष्ट पारेको छ । सम्झनाको उचाई ५ फिट १ ईन्च र सुवास थारुको उचाई ५ फिट १० इन्च रहेको सेनाले प्रस्ट पारेको छ । सेनाले भर्ना छनौट निर्देशिका २०७१ मा तोकिएको मापदण्ड बमोजिमका शर्तहरु पुरा गरी नेपाली सेनामा छनौट भएका सैन्यहरुको वास्तविकतालाई तोडमोड गरी अतिरञ्जित तरिकाले गरिएको प्रचार–प्रसारको भ्रममा नपर्न समेत सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ताहरुसमक्ष हार्दिक अनुरोध गरेको छ । केही दिनयता सामाजिक सञ्जालमा ती तस्बिर पोष्ट गरी सेनामा भर्ना हुने सैनिक उचाई मापदण्डका बारेमा विभिन्न टिकाटिप्पणी हुँदै आएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार