राजनीति
मुलुकको संसदमा पहिलो र तेस्रो स्थानमा रहेका नेकपा एमाले र माओवादी केन्द्र विच एकता भएको २४ घन्टा नबित्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एकता सम्बन्धि मुख खोलेकाछन ।
आक्रामक बिज्ञप्ती निकाल्दै एकताको बारेमा बोलेकाछन । यो एकतालाइ आ-आफ्नो इतिहास प्रतिको वजन थेग्न नसकेकाहरुको मिलन भएको भन्दै यो एकता जनयुद्ध र जन आन्दोलन बाट बिचलित भएकाहरुको तुच्छ स्वार्थको सम्मिलन भएको बताएकाछन ।
आन्दोलनका एजेन्डाहरु र आफ्नो गतिविधिले गर्दा असुरक्षित हुने त्रास र क्षणिक राहत अनुभुतीका लागि एकता गरेको भनेका छन । उनले थपेका छन यहाँ न समृद्धि छ न हुनेवाला नै छ । उनीहरुको यो हर्कत सरासर झुटको अभिव्यक्ति हो । यो उनीहरुको कुनै अवसारवादी कमजोरी पनि होइन । यो त उनीहरु आफ्नै विचार, राजनीति, आदर्शको भारीबाट थिचिएर भागेका नाम कटुवा कम्युनिस्टहरु हुन् । उनीहरुको एकता भनेको क्रान्तिका भगौडा र नाम कटुवा कम्युनिस्टहरुको गठजोड हो । एमाले झापा विद्रोहको वजन र उचाइ थेग्न नसकेर साम्राज्यवादीहरु, संशोधनवादी पुँजीवादीहरुको शरणमा लम्पसार हुन पुगेको भगौडाहरुको झुण्ड हो । उनीहरुको एकता कम्युनिस्टहरुको एकता होइन । क्रान्तिबाट भागेर पुँजीवादको पालेमा पतन भएका संशोधनवादीहरुको गठजोड हो । विचार मरेको तुच्छ स्वार्थ बोकेका जनघाती र राष्ट्रघातीहरुको घोर मिलाप मात्र हो ।
उनि भन्छन यसलाई अर्को भाषामा टाट पल्टिएको बैंकहरुको होल्डिङ व्यापारी संघको विलयबाहेक अरु भन्न मिल्दैन । शुरु मै दुई पार्टी संघको घोर अवसरवादी संशोधनवादी सिण्डिकेटधारी संरचना बोकेर कही नभएको जात्रा गर्दै दुई अध्यक्ष प्रणाली खडा गरेर कुहिएको पार्टीले के नयाँ प्रणालीको हल्ला गर्ने । यो त कम्युनिस्ट आन्दोलनलाई अँध्यारोतिर धकेल्ने व्यर्थको गठजोड मात्र हो ।
यो एकताको सबै भन्दा भद्दा र कुरुप चित्र भनेको प्रचण्ड माओवादीको सम्पूर्ण रुपले विसर्जन हो । प्रचण्डहरु यो आत्मासमर्पणको खाडलमा जाकिन्छन् भन्ने कुरा पहिला नै देखेको र भनेको पनि हो । हामीले उनीहरुको गडबढीलाई विचलन देखेर नै उनीहरुबाट विद्रोह गरेर क्रान्तिकारी पार्टीको पुनर्गठन गर्ने पहल गरेका हौं ।
निकै कडा रुपमा लेखिएको बिज्ञप्तीमा भनिएको छ :
केपी र पिकेले जतिसुकै शान्ति, स्थिरता र समृद्धिको हावा चलाए पनि त्यो संशोधनवादी सामाजिक दलाल पुँजीवादीहरुको स्याल हुईया मात्र हो । उनीहरु दलाल पुँजीवादमा पुगेका सामाजिक दलाल, दलाल पुँजीवादी व्यवस्था आफैँमा शोषण, दमन र उत्पीडनको अर्को नाम हो र त्यो आफैँमा असाध्यै अस्थितरता र विपत्तिको कारण हो । त्यसैले यो व्यवस्थामा केपी र पिकेको भगवानले पनि शान्ति र स्थिरता दिन सक्नेछैन । दिनप्रतिदिन राष्ट्रघात, जनघात, भ्रष्टाचार, कमिसन र तस्करीमा डुब्न पुगेको छ । केपी–पिकेले पहिले नै नेकपामाथि फासिवादी दमन गरेर युद्धको ऐलान गरिसकेका छन् भनें भविष्यमा यो प्रक्रिया अझ तीब्र भएर जानेवाला छ । यसको जवाफ क्रान्तिबाट मात्र दिन सकिन्छ र दिन अनिवार्य छ । अनि केपी–पिकेको शान्ति कताबाट हुन सक्दछ ? बाहिर चारैतिर छरिएको संघर्ष उनीहरुतिर केन्द्रीत भएर जानेवाला छ । उनीहरुले सोच्लान्, बलियो सरकार भएपछि क्रान्तिकारी उग्रवादीहरुलाई दमन गर्न सजिलो हुन्छ । यो उनीहरुको भ्रम र कल्पना मात्र हो । क्रान्ति, बलिदानबाट भागेर प्रतिक्रियावादी सत्तामा गएर क्रान्तिको दमन गर्ने कुरा क्रान्ति गर्नेभन्दा पनि जटिल कुरा हो । वास्तविकता यिनै हुन आगामी दिनहरु भीषण उथलपुथलकारी हुने छनक देखिएको छ ।
एमाले र माकेबीच एकता गरेर बलियो हुने र शासनमा बसेर मोज गर्ने कल्पना गरेका होलान् । हुन पनि सक्छ तर उल्टो हुँदैछ । उनीहरुलाई नजिकबाट बुझ्ने इमानदार क्रान्तिकारीहरुले अवसर प्राप्त गरे । एमालेलाई मात्र होइन, माकेलाई पनि कम्युनिस्ट आन्दोलनबाट पतन गरेर पुँजीवादीहरुको सेवक भएको यथार्थ नाङ्गो आँखाले देख्न पाए । यसले स्वाभाविक रुपबाट सबैतिर रहेका इमान्दार र क्रान्तिकारी कमरेडहरुलाई एकताबद्ध गर्ने र ध्रुवीकृत गर्ने प्रक्रिया निर्णायक मोडतिर पुग्दैछ ।
बिज्ञप्तीको अन्त्यमा उनले सबैतिर रहेका क्रान्तिकारीहरु माक्र्सवाद–लेनिनवाद–माओवाद र एकीकृत क्रान्तिको मार्गमा गोलबन्द हुन आग्रह समेत गरेक छन ।