logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

म कुनै पनि गुटमा छैन : रायमाझी


  • राजनीति
  • शुक्रबार, साउन ३० २०७७

पुर्व मन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफू नेताको पछि लागेर हिँड्ने नेता नभएको स्पष्ट पारेका छन् । उनले आफू दुवै अध्यक्षको गुटमा नभएको र पार्टीमा रहेको पनि जिकिर गरे । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति र सम्वादको प्रयास भैरहेको पनि उनले जनाए । र, दुई अध्यक्षबीच सहमतिको वातावरण तयार भैरहेको उनको दाबी छ । बिहीबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ नेता रायमाझीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्री के.पी. शर्मा ओली र अध्यक्ष प्रचण्डको बीचमा संवाद हुन सकेको छैन । तपाईहरू के हेरेर बसिरहनु भएको छ ? संवाद गराउन सक्नुहुन्न ?

संवादको लागि आधार तयार हुँदै गईरहेको छ । सहमति, संवाद गराउनका लागि प्रयासहरू भईरहेका छन् । हामी त्यसकै लागि लागीरहेका छौँ र राम्रो वातावरण तयार भईरहेको छ ।

कहिले हुन्छ संवाद ? ८/९ दिन भईसक्यो, संवाद हुन नसकेको ?

कोरोना महामारी अझै बढेर गएको कारणले त्यसले पनि बाहिर आउने, संवाद गर्ने, भेटघाट गर्ने, मिति राख्ने कुरामा अलिकति कठिनाई आएको हुनाले त्यो समस्या परिरहेको छ जस्तो लाग्छ ।

होईन सम्वादको लागि धेरै माध्यमहरू छन् नि ?

माध्यमहरू प्रयोग भईरहेका छन् । दोस्रो दर्जाका नेताहरूले सबैतिर छलफल गरेर संवादको लागि आधार तयार गर्ने कामहरूमा काफी मात्रामा प्रयत्नहरू भईरहेका छन् ।

तपाई एकाएक प्रधानमन्त्री के.पी. शर्मा ओलीको गुटमा जानुभयो र प्रधानमन्त्रीको प्रशंसा गरिरहनुभएको छ प्रत्येक दिन ? तपाई प्रधानमन्त्रीका सल्लाहकारहरूलाई गएर पनि भेट्नुहुन्छ । तपाईको स्वार्थ के छ ?

मेरो कुनै स्वार्थ छैन । म प्रधानमन्त्री हुने पनि होइन । म पार्टी अध्यक्ष हुने पनि होइन । मेरो एक मात्र उद्देश्य के छ भने यो पार्टीलाई एकताबद्ध गर्नेमात्र उद्देश्य हो । पार्टी एकता भएन भने यो ठुलो राष्ट्र, जनताको लागि क्षति हुन्छ । हाम्रा प्राप्त उपलब्धिहरू पनि गुम्ने त्यत्तिकै सम्भावना छ । त्यसकारण आन्दोलन, जनता र राष्ट्रप्रति जिम्मेवार भएर नै म लागेको हो ।

तपाई गुट परिवर्तन गर्नमा माहिर नेता हो । पहिले बाबुराम भट्टराईसँग हुनुहुन्थ्यो । त्यसपछि प्रचण्डको गुटमा जानुभयो । अहिले माधवकुमार नेपालको गुटमा जाने पनि तपाईको कुरा थियो । अहिले सिधै तपाई प्रधानमन्त्रीको गुटमा लाग्नुभयो नि ? किन ?

विल्कुल गलत हो । हामी निरन्तर रूपमा पार्टीभित्र लाग्यौँ । कयौँ मान्छेहरू टुटफुट भए, विभाजित भए । म निरन्तर पार्टी खोलेबाट गुटहरू बनाउँदै हिँडेको मान्छे होइन । निरन्तर कार्ययोजना, दृष्टिकोणमा अडिने मान्छे हुँ । म सबै नेतालाई सम्मान गर्छु तर नेताको पछि लागेर कुने फाइदा लिने खालको प्रवृत्ति भएको मान्छे म होइन । जहाँसम्म युद्धकालमा बाबुराम भट्टराई अलिक अन्याय भयो भनेर मैले साथ दिएकै हो । बाबुरामजीजस्तो विद्वान्, योग्यता, क्षमता भएको मान्छे जनयुद्धमा त्यो पार्टीमा जरुरी हुन्छ । उहाँलाई निषेध गर्न हुन्न भनेर मैले साथ दिएको हो, गुटको लागि साथ दिएको होइन । बाबुराम भट्टराईको गुट बनाउन मैले कुनै कोशिस पनि गरिनँ । बाबुराम भट्टराईलाई साथ दिनुको मतलब मैले कहिले पनि अरू नेताहरूलाई निषेध गरिनँ । यदि म गुटको मान्छे हुन्थेँ भने बाबुराम भट्टराईले पार्टी छोड्दाखेरि म पनि छाडेर जान्थेँ नि ? म त पार्टीको सिपाही हुँ भनेर पुष्टि भईसक्यो ।

सरकारले काम गर्न सकेन भन्ने गुनासो छ, तपाई के भन्नुहुन्छ ?

सरकारका केही कमी कमजोरीहरू हुन सक्छन् । तर पनि यो महामारीलाई अलि व्यवस्थित रूपमा नेतृत्व गर्नुपर्छ । यसमा लड्नको लागि हामी योजनाबद्ध रूपमा अगाडि जानुपर्छ । यद्यपि हाम्रा योजनाहरू बनिरहेका छन्, ती अपर्याप्त छन् । बीचमा राम्रो प्रगति भईरहेको थियो । पछिल्लो चरणमा आर्थिक स्थिति धरासयी हुन्छ कि भनेर सायद सरकारले लकडाउनलाई फेरि खुकुलो बनाउने काम ग¥यो । धेरै लामो समयसम्म पनि हामी लकडाउन गर्न सक्दैनौँ । त्यसकारणले यसको भ्याक्सिन पत्ता नलागेसम्म वास्तवमा यसको निर्मूल हुने न्यून भईरहेको छ । छिमेकी मुलुक भारतमा पनि त्यही रूपमा भईरहेको छ । जति पहलहरू भईरहेका छन्, ती अपर्याप्त छन् तर पनि हामीले यसको विरुद्ध लड्नको लागि सबैले अनुशासित भएर योजनाबद्ध किसिमले अगाडि बढ्नुपर्छ । लापरबाही हामीले थोरै पनि गर्नुहुँदैन ।

कोरोना रोकथामको कुरा गर्दाखेरि अस्पताहरू छैनन् । उपचारहरू पाएका छैनन्, विरामीहरूले, के भन्नुहुन्छ ?

सरकारले अझ पहल बढाउनुपर्दछ । जति गरेको छ, त्यो एकदम अपर्याप्त छ भन्ने मेरो भनाई हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार