logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

३ मन्त्री हटाइदै , नयाँ ३ को आजै सपथग्रहणको तयारी


  • राजनीति
  • आइतबार, कार्तिक १६ २०७७

पछिल्लो समय चर्चामा रहेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रकाश ज्वालालाई मन्त्रीबाट हटाउने तयारी भएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्दैछन् । स्रोतका अनुसार ज्वालालाई पनि मन्त्रीबाट हटाउने तयारी भएको हो । उनी बाहेक सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाउने तयारी छ ।

बैंकिङ कसुरमा परेपछि खड्कबहादुर खत्रीलाई हटाएपछि रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्री पनि आजै नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी छ । खत्री पनि ओली पक्षबाटै मन्त्री बनेका थिए ।

स्रोतका अनुसार नयाँ बन्ने मन्त्रीहरुमा चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापा छन् । कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने खुलेको छैन ।

मुख्यमन्त्री शाहीले हटाउने पूर्वसूचना पाएपछि सामाजिक विकास मन्त्री दल रावलले अघोषित रुपमा पद त्यागेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरुप्रति ऋणी छु ।’

ओली पक्षले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले यसअघि प्रमुख सचेतक गुलाबजंग शाहलाई पनि हटाएका थिए । यो प्रकरणमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्ष एक ठाउँमा आएपछि कर्णाली प्रदेशमा ओली पक्ष अल्पमतमा परेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार