logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ओली सरकार काम चलाउ भैसक्यो : घनश्याम भुसाल


  • राजनीति
  • आइतबार, मंसिर १४ २०७७

सत्तारुढ दल नेकपाका नेता तथा कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले पार्टीसँगको सम्बन्ध राम्रो नभए सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको अगुवा कार्यकर्तासँग उनले पार्टीभित्र भएको किचलोको कारण सरकारले काम गर्न नसकेको बताए।

नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भुसालले भने, ‘गत मंसिर ४ गते सचिवालय बैठकले पार्टीलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गर्ने र सरकार अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्ष चलाउने भनेर मात्र म मन्त्री भएको हो। पार्टीभित्रको समस्या समाधान भयो भन्ने लागेर मन्त्री भएँ, तर अवस्था अहिले पनि उस्तै छ।’

‘अहिलेको अवस्थाजस्तै पार्टी र सरकारबीचको किचलो रहेमा समाजवादतर्फ मुलुकलाई लैजान सक्दैनौँ,’ उनले भने, ‘पार्टी आफैँ राम्ररी सङ्गठित भएर त्यो पार्टीले निर्देशन गरेको दिशामा सरकार हिँडेन भने त्यसले समृद्धि र समाजवाद ल्याउन सक्दैन, कामचलाउ काम मात्र गर्दछ।’

उनले अगाडि भने, ‘हामीले साढे दुई वर्ष किचलोका बीच बितायौँ, अब पार्टी र सरकारबीचको सम्बन्ध सुमधुर भएर गयो भने बाँकी रहेको समयमा धेरै काम गर्न सक्दछौँ।’ राम्रोसँग काम गर्ने हो भने बाँकी रहेको समय पर्याप्त छ हामीले जनचाहनाबमोजिमका काम गर्न सक्दछौँ तर पार्टी र सरकारबीचको सम्बन्ध सुमधुर हुनुपर्ने उनको भनाइ थियो।

पार्टीबीचको गुटबन्दीको अन्त्य नगरेसम्म सरकारले काम गर्न नसक्ने भन्दै उनले भने, ‘अब यो या त्यो समूहको भन्दै गुटबन्दी नगरी पार्टी हितमा लाग्नका लागि सबैलाई आग्रह गर्दछु।’ कृषि क्षेत्रलाई पर्याप्त बजेट नछुट्याएका कारणले काम गर्न नसकेको मन्त्री भुसालले चिन्ता व्यक्त गरे।

साठी प्रतिशत जनता कृषि पेशामा आबद्ध छन्, जसले २७ प्रतिशत योगदान राष्ट्रिय आयमा गरेको भन्दै उनले त्यसलाई २.५ प्रतिशत बजेट राखेर भारत र चीनसँग प्रतिस्पर्धा गर्न नसकिने बताए। कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्णप्रसाद खनाल र नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियारले पार्टीको समसामयिक विषयमा मन्तव्य राखेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार