राजनीति
१०७ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट आज स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ ।
नेपालको नेतृत्वसहित मन्त्री विष्ट आज बिहान अन्तर्राष्ट्रिय श्रम संगठनले आयोजना गरेको सम्मेलनमा त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलनमा मन्त्री विष्टले यही जेठ २१ गते सबै देश सहभागी हुने पूर्णसत्रलाई सम्बोधन गर्नुहुनेछ ।
सम्मेलनका क्रममा आयोजना हुने असंलग्न राष्ट्र र एशिया प्रशान्त समूहका मुलुकका छुट्टाछुट्टै मन्त्रिस्तरीय बैठकलाई जेठ २२ गते सम्बोधन गर्नुहुनेछ । सोही दिन उहाँले कोलम्बो प्रोसेसको अध्यक्ष राष्ट्रको अध्यक्षको हैसियतले कोलम्बो प्रोशेस मुलुकका मन्त्री एवं अन्य सहभागीसँग अन्तक्र्रिया सहितको दिवाभोज आयोजना गर्ने यसअघि नै त्यहाँ पुगिसक्नुभएका मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
सम्मेलनका क्रममा नेपालका प्रमुख श्रम गन्तव्य मुलुकका मन्त्री तथा उच्चस्तरीय प्रतिनिधिका साथै अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक एवं उच्चस्तरीय पदाधिकारीसँग मन्त्री वा सचिवका स्तरमा छुट्टाछुट्टै भेटघाट तथा छलफल हुने कार्यक्रम छ ।