राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीको असहमतिका बाबजुद पनि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले प्रस्तुत गरेका दुवै प्रस्ताव आइतबार देखि छलफलका लागि पार्टी स्थायी समिति बैठकमा बितरण गरिसकिएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली स्थायी समितिमा पनि प्रष्ट अल्पमतमा छन्। अल्पमतमै रहेका कारण उनले बैठक छल्दै आएकाछन । यद्यपि, उनको असन्तुष्टिका बिच शनिबारको बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मंसीर १३ गते अध्यक्ष ओलीले पेश गरेका दुवै प्रस्तावमाथि स्थायी समितिमा बितरण गरिसकेको छ ।
आइतबारको स्थायी समिति रोकिएन तर ओली गएनन् । स्थायी समिति र केन्द्रीय समितिमा छलफल भएपछि दुई प्रस्तावमध्ये एउटा प्रस्ताव पार्टीको आधिकारिक दस्तावेज हुनेछ भने अल्पमतमा परेको प्रस्ताव फरक मतका रुपमा सुरक्षित राखिनेछ।
नेकपाका दोस्रो तहका नेताहरुले सहमतिको प्रयास थाले पनि सहमतिको विन्दु फेला पार्न सकेका छैनन्। पार्टीका अधिकांश नेताहरु प्रधानमन्त्री ओलीले त्याग गर्नैपर्ने पक्षमा उभिएका छन्, जसका कारण नेकपाको विवाद थप पेचिलो बनेको छ। दुवै प्रस्ताव फिर्ता लिएर सहमतिको प्रस्ताव तयार पार्नुपर्ने आवाज नेकपाभित्र उठे पनि त्यो मत निर्णायक अवस्थामा छैन। त्यस्तो अवस्थामा स्थायी समिति बैठकले बहुमत अल्पमतका आधारमा प्रस्तावको छिनोफानो गर्नेछ।
कुन नेता कता ?
स्थायी समितिको बैठक प्रारम्भ हुँदै गर्दा नेकपाको ४४ सदस्यीय स्थायी समितिमा रहेका नेतामध्ये कसले कुन कित्ता लेलान् भन्ने चासो बढेको छ। ४४ सदस्यीय स्थायी समितिमा ओली प्रष्ट रुपमा अल्पमतमा छन् भने प्रचण्ड–नेपाल समूहको प्रष्ट बहुमत छ। यसर्थ, स्थायी समितिबाट प्रचण्डको प्रस्ताव पारित हुने निश्चित छ।
ओली समूह
नेकपाको स्थायी समितिमा ओली समूहमा ११ जना नेता प्रष्ट खुलेर देखिएका छन्। ओली समूहमा प्रधानमन्त्री केपी शर्मा ओली, सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु सुबासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, विष्णुप्रसाद रिमाल, सत्यनारायण मण्डल, शंकर पोखरेल देखिएका छन्।
प्रचण्ड–नेपाल समूह
स्थायी समितिमा प्रचण्ड–नेपाल समूहमा २९ जना नेताहरु रहेका छन्। प्रचण्ड–नेपाल समूहमा रहेका नेताहरुमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, भीमबहादुर रावल, अष्टलक्ष्मी शाक्य, देवप्रसाद गुरुङ, गिरिराजमणि पोखरेल, बर्षमान पुन, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, पम्फा भुसाल, गणेश साह, चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, मातृकाप्रसाद यादव, लिलामणि पोखरेल, शक्तिबहादुर बस्नेत, हरिबोल गजुरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, भीमप्रसाद आचार्य, मुकुन्द न्यौपाने, योगेशकुमार भट्टराई, रघुजी पन्त र बेदुराम भुसाल देखिएका छन्।
मध्यमार्गी समूह
स्थायी समितिका नेताहरुमध्ये ४ जना नेताहरु मझधारमा देखिएका छन् अर्थात यो धारलाइ ढुलमुले धार पनि भनिन्छ । उनीहरुको कुनै समूह नरहे पनि पार्टी विवादमा कुन कित्तामा उभिन्छन् भन्ने अहिले नै प्रष्ट छैन। यद्यपि, यो समूहको स्थायी समितिमा कुनै निर्णायक भूमिका देखिएको छैन। मझधारका नेताहरुमा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’, स्थायी समिति सदस्यहरु किरण गुरुङ, लेखराज भट्ट र मणिचन्द्र थापा रहेका छन्।