राजनीति
दश वर्षको जनयुद्ध मार्फत शान्ति प्रक्रियामा आइसकेपछिको करिब एक दशकको अवधिमा प्रचण्ड पार्टीभित्र तीनपटक अल्पमतमा परेका थिए ।
चतुर उनले तीनैपटक उनले सानातिना पार्टीसँग एकीकरण गरी ती पार्टीका केही कार्यकर्तालाई केन्द्रीय समितिमा हुलेर आफ्नो पक्षमा प्राविधिक बहुमत जुटाइरहे । उदाहरणका लागि शान्ति प्रक्रियामा आएपछि भएको बालाजु बैठकमा ३५ जनाको पोलिटव्युरोमा प्रचण्डसँग जम्मा १७ जना मात्रै भए, बादल तटस्थ नबसिदिएको भए त्यतिबेलै उनको पद धरापमा पर्ने अवस्था भयो।
त्यो समस्यालाई टालटुल पार्दै उनले भक्तपुरको खरिपाटी सम्मेलन बोलाए । खरिपाटी सम्मेलनमा मोहन वैद्य किरणको पक्षमा स्पष्ट बहुमत देखियो । तर डा.बाबुराम भट्टराईलाई प्रयोग गरी त्यो संकट उनले अस्थायी रूपमा टारे ।
आफ्नो पद जुनसुकै बेला पनि धरापमा पर्ने अवस्था सिर्जना भएपछि प्रचण्डले एकता केन्द्र मसालसँग पार्टी एकीकरण गराए । एकता केन्द्र मसाल कार्यकर्ता नभए पनि नेताहरू भने निकै धेरै भएको पार्टी थियो । त्यो पार्टीकोे ठूलो पंक्तिलाई केन्द्रीय कमिटीमा ल्याएर प्रचण्डले आफ्नो पक्षमा बहुमत सावित गरे । खासगरी तत्कालीन एकता केन्द्र मसालका नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, विश्वभक्त दुलाल आहुतिलगायतका नेताहरूलाई आफ्नो पछि लगाउँदै प्रचण्डले मोहन वैद्य, बाबुराम भट्टराईलगायतका नेताहरूलाई पेल्न थाले । प्रचण्डको पेलाई निकै चर्को भएपछि ललितपुरको धोवीघाटमा गोप्य भेला गरी मोहन वैद्यदेखि डा.बाबुराम भट्टराईसम्मका नेता एक भए । त्यसबेला भने साँच्चै अल्पमतमा परेका प्रचण्ड बाबुरामलाई प्रधानमन्त्रीका रूपमा अघि सार्न बाध्य भए । करिब एक वर्ष बाबुराम प्रधानमन्त्री भए ।
आफ्नो सक्रिय राजनीतिक जीवनमा यो नै पहिलो र सबैभन्दा ठूलो हार भएको त्यतिबेला प्रचण्डले आफ्ना निकटस्थहरूलाई बताएका थिए । तर बाबुराम र मोहन वैद्यलाई विस्तारै पार्टीबाट बहिर्गमन गराउन प्रचण्ड सफल भए । यी दुवैको बहिर्गमनले प्रचण्डलाई पार्टीभित्र आफ्नो पक्कड मजबुत बनाउन राहत भए पनि माओवादी पार्टीको आकार भने धेरै नै खुम्चियो ।
करिब करिब २०४८ सालको जनमोर्चाकै हैसियतमा माओवादी पुग्यो । पार्टी अझै सानो हुँदै जाने संकेत देखेपछि प्रचण्डले एमालेसँग एकीकरण गराएका हुन् । एमालेसँग एकीकरण गराई नेपाल कम्युनिस्ट पार्टी निर्माण भएपछि प्रचण्ड दोस्रो मर्यादाक्रमको अध्यक्ष बनेका छन् । अब फस्ट म्यान कसरी बन्ने ? भन्ने एकसूत्रीय रणनीतिबाहेक प्रचण्डले अन्त नहेरेको बुझिन्छ ।