राजनीति
हिजो दिउँसो १२ बजेर ४८ मिनेटमा प्रतिनिधि सभाको बैठक आह्वान गर्न माग गर्दै एक चौथाईभन्दा बढी सदस्यहरूको हस्ताक्षरयुक्त निवेदन बोकेर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा स्थायी समिति सदस्य भीम रावल र प्रधानमन्त्री केपी ओलीवीच फोनमै भनाभन चलेको छ ।
अस्ति सरकारले फाष्ट ट्रयाक विधिबाट संवैधानिक परिषद् बैठकसम्बन्धी अध्यादेश जारी गरेको र हिजै दिउँसो १ बजे बालुवाटारमा नेकपाको पूर्व निर्धारित स्थायी समिति बैठक बस्न लागेको अवस्थामा एमाले पृष्ठभूमिका (भृकुटीमण्डपको नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष) रावल र माओवादी प्रवक्ता पम्फा भुसालले ५ घण्टा कुरेर शीतल निवासमा निवेदन दर्ता गर्ने अड्डी कसेका थिए।
शुरुमा सचिव डा.हरि पौडेलले ‘निवेदन छाडेर जानुहोला, पछि फोनबाट दर्ता नम्बर टिपाउँला’ भने पनि उहाँहरूले ‘आफूहरूले धेरै जनाको निवेदन बोकेर आएकाले दर्ता नम्बर लिएर मात्र जाने हो’ भनेपछि सचिवले ‘त्यसोभए पर्खनुहोस्, म महामहिमलाई सोधेर, दर्ता गरेर आउँछु’ भन्दै निवेदन लिएर हिँडेको र घण्टौंसम्म मोबाइल स्वीच अफ गरेर सम्पर्कविहीन भएको बताइन्छ । दुई घण्टापछि भुसालले ‘आफूहरू कुरेर’ बसिरहेको म्यासेज पठाएपछि रास्ट्रपतिका प्रमुख निजी सचिव डा.भेषराज अधिकारीले लन्च टाइम र यस्तै अन्य कारण त्यतिञ्जेलसम्म राष्ट्रपतिसँग भेट गर्न नपाएको जवाफ फर्काएको बताइन्छ ।
तर वास्तविकता भने अर्कै भइरहेको थियो । शीतल निवासमा लगिएको निवेदन बोकेर (हस्ताक्षरको विवरणसहित) केही सरकारी कर्मचारी बालुवाटार पुगेको सुईंको पाएपछि राष्ट्रपति कार्यालयका कर्मचारीहरूमा छटपटाहट देखिएको थियो । त्यत्ति नै खेर शीतल निवासमा दर्ता नम्बर नलिई नजाने अडान लिएर बस्नुभएका रावलको मोबाइलमा प्रधानमन्त्री केपी शर्मा ओलीको मोबाइलको घण्टी बज्यो । फोन उठाउने बित्तिक्कै प्रधानमन्त्रीले चर्को स्वरमा ‘तुरुन्त फिर्ता हुनुहोस् । कसलाई सोधेर निवेदन बुझाउन जानुभयो ?’ भन्दै कड्ककिएका थिए।
‘किन सोध्ने, कसलाई सोध्ने ? तपाईंले चाहिँ पार्टीलाई सोधेर अध्यादेश ल्याउनुभएको थियो र ?’ भीम रावलले पनि तुरुन्तै जवाफ फर्काए । त्यसपछि प्रधानमन्त्रीले भने, ‘म संसदीय दलको नेता हुँ । मलाई नसोधी त्यस्तो काम गर्न पाउनुहुन्छ ?’ त्यसपछि एक छिनसम्म उहाँहरूबीच फोनमा चर्काचर्की परिरह्यो ।
यता, बालुवाटारमा स्थायी समितिको बैठक बस्न थाल्यो । फेरि प्रधानमन्त्रीबाट बालुवाटारमा सोधखोज भयो ‘खोई भीम रावल र पम्फा ?’ बालुवाटारमा स्थायी समितिको बैठक सकिएर निर्णय बाहिरिँदासम्म पनि उहाँहरू भने शीतल निवासमा डेरा जमाएर बसिरहेका थिए । ढिलोसम्म बस्नुपर्ने देखेर होला, रावलले घरबाट न्यानो कपडा र खानासमेत मगाइसकेका थिए ।
यता अध्यादेश फिर्ता हुने सहमतिसङ्गै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फोन गरेर फिर्ता हुनुहोस् भनेपछि उहाँहरू सचिवलाई पाँच घण्टाअघि दिएकाे निवेदनको फाइल बोकेर शीतल निवासबाट साँझ पौने छ बजे बाहिरिएका थिए । ८३ जना सांसदको दस्तखत रहेको निवेदनमा बहालरत मन्त्री र प्रमुख सचेतकको भने दस्तखत नगराइएको बुझिएको छ ।