logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

वामदेवलाइ अध्यक्ष : सुल्झाउन की अल्झाउन ?


  • राजनीति
  • शनिबार, पुष ४ २०७७

भोलिलाई बोलाइएको नेकपा स्थायी समितिको पूर्वसन्ध्यामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली आज बिहान पन्ध्र मीनेटको फरकमा उपाध्यक्ष वामदेव गौतमलाई समेत लिएर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुग्नुभएको सन्दर्भलाई धेरैले राजनीतिक रणनीतिको रूपमा लिएका छन् ।

पूर्व एमाले र बहुदलीय जनवादको आडमा कित्ताकाट हुने स्थिति नरहेपछि बालुवाटारले ‘यसै भएन,उसै भएन’ को थ्योरीमा खुमलटार पुगेर कुराकानी गर्ने र दुईमध्ये एक पद छाड्नै पर्दाको अवस्थामा वामदेवलाई अघि सारेर सचिवालयको गठबन्धनलाई तितरबितर पार्ने योजना बनाएको बताइन्छ ।

भेटमा प्रधानमन्त्रीले प्रचण्डको १९ पृष्ठको र आफ्नो ३८ पेजको दुबै राजनीतिक प्रतिवेदन फिर्ता लिएर जान जोड गर्नुभएको बताइन्छ । खुमलटार स्रोतका अनुसार प्रधानमन्त्रीले दाहालसँग ‘मिलेर जाऔं कमरेड, महाधिवेशनपछिको अध्यक्ष तपाईं नै हो’ समेत भन्नुभएको थियो । प्रत्युत्तरमा दाहालले औपचारिक रुपमा पेश भएका प्रतिवेदन र विषयहरु पार्टीको औपचारिक प्रक्रियाबाटै टुंगिनेमा आफू दृढ रहेको बताउनुभएको थियो ।

आफू पुगेकै समयमा उपाध्यक्ष वामदेव गौतमलाई समेत प्रधानमन्त्रीले खुमलटारमा बोलाउनुभएको सन्दर्भलाई निकै चासो र अर्थपूर्ण मानिएको छ । पहिले बिहान साढे दश बजे भनिएको भेटघाटको लागि प्रधानमन्त्री एघारको हाराहारीमा मात्र खुमलटार पुग्नुभएको थियो । लगत्तै,गौतम पनि खुमलटार पुग्नुभएको बताइन्छ । हिजो पेरिसडाँडामा भएको १ नं. प्रदेशस्तरीय भेलामा अनुपस्थित हुनुभएका गौतम आज बालुवाटारको आग्रहमा खुमलटार पुग्नुलाई संयोगको रूपमा मात्र लिन नहुने बताइन्छ ।

तर, राजनीतिक प्रतिवेदन र पार्टीभित्रको विवाद सचिवालयबाट फुत्केर स्थायी समितिमा पुगेकाले अब ती विषयको छिनोफानो सानो कमिटीतिरभन्दा ठूलो अर्थात् केन्द्रीय समितिमा नै पुगेर निर्णायक बनाउने अर्को पक्षको तयारी छ । यसबीच बालुवाटारले पूर्व माओवादी तथा प्रचण्ड निकट भनिएकाहरू रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापालगायतको एउटा समूह निर्माणमा जोड दिँदै त्यसको नेतृत्व गर्न बादललाई आग्रह गरेको बताइन्छ ।

जनआस्थाबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार