logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

प्रचण्डले ‘पूर्व एमाले’ लाई यसरी छिन्न भिन्न पारे (तथ्यांकसहित)


  • राजनीति
  • शुक्रबार, पुष १० २०७७

प्रचण्डको एउटा रणनीति छः ढाँडमा टेकेर टाउकामा हान्ने । दुश्मनविरुद्ध यस्तो रणनीति चाल्ने भन्दै उनले जनयुद्धका बेलामा र त्यसपछि पनि भाषणमै भन्ने गर्थे । उनले यसपटक यही रणनीति प्रयोग गरेको चर्चा फेरि भएको छ ।

कतिपयले प्रचण्डले एमालेसँग पार्टी एकीकरण गरेर गम्भीर गल्ती गरेको समेत भने । तर, उनले एकीकरण गरेर जोखिम चाहिं मोलेका थिए । अब उनी यस्तो मोडमा छन् कि उनको राजनीतिको सुर्य कि त उदाउँछ कि त अस्ताउँछ । प्रचण्डको सुर्य उदायो भने उनी ‘ढाँडमा टेकेर टाउकामा हान्ने’ रणनीतिमा फेरि सफल हुनेछन् । अन्यथा नेपाली राजनीतिको केन्द्रबिन्दुमा डेढ दशकयता रहेका प्रचण्डको प्रभावशाली राजनीतिमा पूर्णविराम लाग्नेछ ।

नेपाल कम्युनिस्ट पार्टी एकीकरण गर्दा ४० प्रतिशत हिस्सासहित प्रचण्ड तत्कालिन एमालेसँग जोडिएका थिए । त्यसका लागि माओवादीको बिघटन गरे । ओली नेतृत्वको नेकपा एमालेलाई पनि बिघटन गर्ने अवस्था बनाए । नेकपा बन्यो । तर, एकीकरणको साँढे दुई वर्षमै नेकपा विभाजित भएको छ ।

विभाजनको अवस्थालाई केलाउँदा ओली र प्रचण्डले एक अर्काको नजिकका प्रभावशाली नेताहरुलाई तान्ने क्रम अन्तिम समयसम्म चलिरहेको छ । बिहिबारसम्म भएको भेलाले उपाध्यक्ष वामदेवको मात्र कित्ताकाट भएको छैन । बाँकी सबैको भइसकेको छ ।

तथ्यांकलाई केलाउँदा सचिवालयका चारजना ओलीपक्षीय छन् । त्यति नै संख्यामा प्रचण्डपक्षीय छन् । वामदेव तटस्थ छन् । कुल नौ सदस्यमा ओली र प्रचण्ड समूहमा बराबरीको संख्या छ ।

प्रचण्ड समूहमा विगतमा रहेका बादललाई मात्र ओलीले आफ्नो पक्षमा पार्ने सफलता हासिल गरे । तर, प्रचण्डले माधवकुमार नेपाल र झलनाथ खनाललाई आफ्नो पक्षमा ल्याउन सके । ओलीले भन्दा एकजना बढी संख्यालाई प्रचण्डले पक्षमा तान्न सके । उनले साथमा लिन सकेका दुवै जनता पूर्व प्रधानमन्त्री र बादलको तुलनामा राम्रो पकड बनाएका नेता हुन् ।

स्थायी कमिटीमा हाल रहेका ४४ जनामध्ये १६ जना ओलीको पक्षमा छन् । बाँकी २७ जना प्रचण्ड पक्षमा देखिएका छन् । ओलीले पूर्व माओवादीका चारजना स्थायी कमिटी सदस्यलाई आफ्नो पक्षमा ल्याउन सके । जसमध्ये बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणिचन्द्र थापा छन् । तर, प्रचण्डले योभन्दा धेरै संख्याका पूर्व एमालेलाई आफ्नो पक्षमा ल्याउन सकेका छन् । १३ जना पूर्व एमाले स्थायी कमिटी सदस्य प्रचण्ड पक्षमा पुगेका छन् । उनीहरु माधव नेपालको साथमा प्रचण्ड समूहमा रहेका हुन् ।

ओली पक्षका १२ जना स्थायी कमिटी सदस्य पूर्व एमालेकै छन् । यो तथ्यांकले पनि पूर्व एमालेका बहुमत स्थायी कमिटीहरु ओलीलाई छाडेर प्रचण्ड समूहको नेकपामा लागेका छन् । आफ्नै समूहका प्रभावशाली नेताहरुलाई ओलीले रोक्न सकेनन् । बरु उनी पिलो निस्किएर तौल घट्दैन भनेर बसेका छन् । पूर्व माओवादीको चारजना स्थायी कमिटीलाई पक्षमा ल्याउन सकेका ओलीभन्दा पूर्व एमालेका १३ जनालाई ल्याउन सकेका प्रचण्ड यस अर्थमा सफल देखिएका छन् । प्रचण्डले ४ जना स्थायी कमिटी सदस्य गुमाउँदा ओलीले १३ जना गुमाएका छन् ।

मौजुदा केन्द्रीय कमिटीलाई आधार मानेर विश्लेषण गर्दा नेकपामा ४ सय ४७ जनाको केन्द्रीय कमिटी छ । तर, निर्वाचन आयोगमा ४४१ जनाको नाम दर्ता छ । प्रचण्ड समूहको नेकपाले निर्वाचन आयोगमा केन्द्रीय कमिटीको २८७ जनाको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ । यो तथ्यांकलाई आधार मान्दा ओली पक्षमा १५४ केन्द्रीय सदस्य रहेका छन् । पार्टी एकीकरण हुँदा ६० र ४० प्रतिशत गरी पूर्व एमाले र पूर्व माओवादीमा केन्द्रीय सदस्य भागवण्डा भएको थियो । जस अनुसार पूर्व एमालेले २६५ र पूर्व माओवादीले १७६ केन्द्रीय सदस्य संख्या पाएको देखिन्छ । यसलाई विश्लेषण गर्दा प्रचण्डले पूर्व एमालेका १११ जना केन्द्रीय सदस्य आफ्नो पक्षमा पार्न सफल भएको देखिन्छ । यसबाट पनि प्रचण्ड नै सफल देखिन्छन् ।

प्रचण्डले माधवकुमार नेपाल र झलनाथ खनाल दुवै वरिष्ठ नेतालाई आफ्नो साथमा पार्न सफल भएसँगै पार्टीको सबै कमिटीमा ओली अल्पमतमा परे । उनले त्यसपछि रणनीति चालेर मङ्गलबार केन्द्रीय कमिटी बैठक डाकेका थिए । उक्त बैठकमा मौजुदा ४४७ केन्द्रीय कमिटीलाई विस्तार गरी ११ सय ९९ बनाएको निर्णय गराए । ५ सय ५६ जना नयाँ केन्द्रीय सदस्य समेत बनाए । ती सबै उनी पक्षधर हुन् । अझै १९६ रिक्त संख्या राखे

नेकपाको विभाजनअघिको कमिटीको संख्या र त्यसपछि कित्ताकाट भएको संख्यालाई विश्लेषण गर्दा प्रचण्डले पार्टीमा पकड बनाउने ठुलो सफलता हासिल गरेका छन् । उनले पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा ओलीले भन्दा बढी पकड बनाएका छन् । पूर्व एमालेका ठुलो संख्यालाई आफ्नो पक्षमा पारेका छन् । यतिसम्मकी स्थायी कमिटीमा हाल रहेका पूर्व माओवादीकै हाराहारीमा पूर्व एमालेका नेताहरुलाई पक्षमा ल्याउन सकेका छन् ।

प्रचण्डले आफ्ना धेरै पक्षधरलाई कित्ता काट्नबाट रोक्न सके जसमा ओली असफल भए । मौजुदा संख्यालाई आधार मानेर निर्वाचन आयोग अघि बढ्ने हो भने प्रचण्डले सुर्य चिन्ह हात पार्ने भएका छन् । उनले पूर्व एमालेलाई छिन्नभिन्न पार्ने सफलता हासिल गरेका छन् । पूर्व एमालेका ओली एकातिर र माधव नेपाल र झलनाथ खनाल अर्कातिर बनाइदिएका छन् । बामदेव गौतम अर्कातिर छन् । उनी अझै तटस्थ देखिएका छन् । यतिसम्मकी अब महासचिवका लागि माधव नेपाल निकटस्थ दुई नेता भीम रावल र सुरेन्द्र पाण्डेबीच संघर्ष शुरु भइसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार