logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सात सय विद्यार्थीले परीक्षा अवधिभर भाषण सुने, उत्तरपुस्तिका भरे


  • राजनीति
  • बुधबार, पुष १५ २०७७

तपाईं परीक्षा दिँदै हुनुहुन्छ र त्योबेला कसैले हल्ला गर्‍यो भने के गर्नुहुन्छ ? सामान्यतया परीक्षा हलमा हल्ला हुँदैन वा गर्न दिइँदैन । त्यही भएर सामान्तः हल्ला नहुने वातावरण सम्बन्धित विद्यालय वा कलेजले मिलाएकै हुन्छ ।

तर, मंगलबार काठमाडौंमा फरक दृश्य देखियो । प्रदर्शनीमार्गस्थित रत्नराज्य (आरआर) लक्ष्मी क्याम्पसमा अध्यनरत स्नातकोत्तर तह दोस्रो वर्षका करिब सात सय विद्यार्थीले मंगलबार ‘प्रतिगमन विरोधी’ भाषण सुन्दै परीक्षा दिन बाध्य भए ।

दिउँसो एक बजेदेखि चार बजेसम्म आरआर क्याम्पसमा परीक्षा थियो । ठीक त्यही समयमा आरआर क्याम्पस नजिकै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको प्रदर्शनसहितको विरोधसभा थियो ।

यता आरआर कलेजमा परीक्षा सुरु भयो, उता विरोध सभामा भाषण ।

विरोध सभामा सहभागीहरू आरआर क्याम्पस गेट हुँदै पद्मोदय मोडसम्मै पुगेका थिए । नेताहरूको भाषण सुन्न सहज होस् भनेर सडकका खम्बामा माइकहरु राखिएका थिए ।

आरआर क्याम्पस प्रमुख जीभन्धर ज्ञवाली भन्छन्, ‘विरोध सभा भएपछि ध्वनि प्रदूषण नहुने भन्ने त भएन तर, विद्यार्थीहरू परीक्षामै केन्द्रित थिए ।’

क्याम्पस प्रमुख ज्ञवालीका अनुसार कतिपय विद्यार्थीहरू जामका कारण भीड छिचोल्न नसकेर समयमा परीक्षा हलमा पुग्न सकेनन् । ‘परीक्षा सुरू भएको आधा घण्टापछिसम्म पनि विद्यार्थीहरू हस्याङफस्याङ गर्दै आए । हामीले म्यानेज गर्यौं ।’

हल्ला भयो भनेर कसैसँग गुनासो गर्ने वा कार्यक्रम नै अर्को स्थानमा राख्न लगाउने गरी कुनै पहल गर्नुभएन त ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘विद्यार्थी नेताहरूलाई भनेका हौं तर, कार्यक्रम रोकिएन ।’

नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैतमा रोकिएको आमसञ्चार र पत्रकारिता, समाजशास्त्र, मानवशास्त्र, राजनीतिक शास्त्र जनसंख्या, अर्थशास्त्रलगायतका विषयको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा मंगलबार पनि थियो ।

परीक्षामा खटिएका एक शिक्षकले भने, ‘झ्याल लगाउँदा पनि डिस्टर्ब भइरह्यो ।’

विद्यार्थीहरूको परीक्षा चार बजेसम्म चल्यो । यता विरोधसभा पौने चार बजेसम्म रह्यो । विद्यार्थीले करिब १५ मिनेट मात्रै शान्त वातावरणमा परीक्षा दिन पाए ।

एकजना विद्यार्थीले गुनासो गरे, ‘ठ्याक्कै कार्यक्रम सुरु र हाम्रो परीक्षा एकै समयमा भयो । हामीले प्रश्नपत्र पाउँदा उद्घोषक कराउन थालिसकेका थिए । हाम्रो पेपर खोस्ने बेला उता प्रचण्डको भाषण पनि सकियो ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार