राजनीति
उद्योगमन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहिले पनि मुलुकमा महाविपत्ति ल्याउँदै आएको आरोप लगाएका छन्।
केपी ओली समूहले बुधबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री भट्टले प्रचण्ड जहिले पनि पार्टी र देशमा महाविपत्ती ल्याउने व्यक्ति भएको दाबी गरे।
‘उहाँले जहिल्यै महाविपत्ति ल्याउनुहुन्छ। उहाँमा वैचारिक विचलन आएको छ। पार्टी केका लागि जुट्यो? फुट्यो?,’ उनले भने। मन्त्री भट्टले प्रचण्डको केटाकेटीपनमा फरक नदेखिएको आरोप लगाए।
प्रचण्ड भन्दै हुनुहुन्छ माओवादी एक ठाउँमा हुनुपर्छ। त्यसो भए माधव नेपाललाई यहाँ पठाइदिनुपर्यो,’ भट्टले भने, ‘एमाले र माओवादी इतिहास भइसक्यो। आजको नेतृत्व केपी ओली हो।’
प्रधानमन्त्री ओलीको नेतृत्वमा समृद्ध नेपालको सपना देखेको पनि उनले बताए।
‘सडकमा उहाँहरू भन्दै हुनुहुन्छ ओलीले संघीयता खारेज गर्छन् भनिरहनु भएको छ। यसले अस्थिरता निम्त्याउँछ,’ उनले भने।
भट्टले सडकमा गएर पार्टी एकता नहुने पनि बताए। ओलीले निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्ने आँट गरेको उनको भनाइ छ।
‘सत्ता हस्तान्तरण र महाधिवेशनबाट नेतृत्व हस्तान्तरणको आँट उहाँहरू (प्रचण्ड-नेपाल) लाई छ?,’ उनले प्रश्न गरे। ओलीसँग सही विचार रहेको दाबी भट्टको छ। भट्ट ले सरकारले गरेका काम नदेखेको पनि भट्टले बताएका छन्।
‘उहाँहरूले प्रधानमन्त्री र सरकारले गरेका काम कहाँ देख्नु हुन्छ?,’ उनले भने, ‘उहाँहरू त सत्ता मात्रै हेर्नुहुन्छ।’उनले नेकपाबाट सानो झिल्का फुटेर गएको पनि दाबी गरेका छन्। नेता भट्टले प्रचण्ड माधव समुहले सार्वजनिक रुपमा माफि मागेर आए एकता हुने बताए ।