logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

जनपरिषदले खोल्यो कब्जा गर्नुको कारण


  • राजनीति
  • सोमबार, जेष्ठ २८ २०७५

काठमाडौँ-  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट जनपरिषद नेपालले ‘श्रमजीवी किसान वर्गमाथि भू–माफिया वर्गले गरेका अत्याचारविरुद्ध निरन्तर लड्दै आएको’ जनाएको छ । आफूलाई उत्पीडित तथा श्रमजीवी किसानको संरक्षक दाबी गर्दै सो संगठनले दलाल नोकरशाही पुँजीवाद र सामाजिक दलालवर्गको आडमा भइरहेको प्राकृतिक श्रोत–साधनमाथिको अतिक्रमण रोक्न र भू–माफियाको सम्पत्ति कब्जा गर्न लागिपरेको प्रष्ट्याएको हो ।

जिल्ला जनपरिषद नेपाल (नुवाकोट)ले एक प्रेस विज्ञप्ति प्रकाशित गरी ‘जनपरिषदले भू–माफियाको सम्पत्ति कब्जा गर्नुको कारण’ सार्वजनिक गरेको छ ।

विज्ञप्तिमा जनाइएअनुसार हदबन्दीभन्दा बाहिर रहेको सेरादरबार (नुवाकोट)को सयौँ रोपनी जमिन भू–माफियाले कृषि ट्रष्टको नाममा दर्ता गराई करोडौँमा बेचविखन गर्दै आएको थियो । त्यसलाई कृषि ट्रष्टको नामबाट निजीकरण गर्न ठूलो आर्थिक चलखेल भइरहेको दाबी गर्दै भूमाफियाको दूतको रूपमा रहेका विकेश श्रेष्ठको अगुवाईमा भोगचलन गरिँदै आएको जनपरिषदको भनाई छ ।

सार्वजनिक जमिनलाई ट्रष्टको नाममा किनबेच तथा उपयोग नगर्न–नगराउन अनुरोध गर्नुका साथै उक्त जमिन छोडेर जान सङ्गठनले विकेशलाई सचेत गराइएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी ककनी गाउँपालिकाको रानीपौवामा रहेको साझा सेवा संस्थाको दुई रोपनीभन्दा बढी जमिन र त्यसमा रहेको भवन विगत केही वर्षअघिदेखि ककनीको जनतालाई सस्तो–सुलभ सुविधा भन्दै साझाले पसल राखी सार्वजनिक जमिनमा घर बनाएर सेवा दिँदै आएकोमा हाल उक्त जमिन आफ्नो संस्थाको नाममा पूर्जा लिई बेचेर अन्यत्रै जान लागेपछि जनपरिषदले संस्था कब्जामा लिएको स्वीकार गरिएको छ । साझाको भूकम्पले जिर्ण भवन किनबेच नगर्न विभिन्न सङ्घ–संस्था र व्यक्तिलाई सूचित गराउँदै जनपरिषदले अन्यथा सम्बन्धित संस्था वा व्यक्ति नै जवाफदेही हुनुपर्ने जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार