राजनीति
प्रतिबन्धित नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला बुधबार ललितपुरबाट पक्राउ परे । उनी पक्राउ परेसंगै प्रहरीकाे ध्यान पार्टी का महासचिव विप्लव माथी केन्द्रित भएकाे छ ।
बास्तोला बौद्धिक नेताको छवि बनाएका बास्तोला युद्धकालीन माओवादी नेता हुन् उनी अन्तर्राष्ट्रिय मामलाका जानकार व्याक्ती हुन ।
तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादीका पोलिटब्युरो सदस्य रहेका बास्तोला विप्लवसँगै प्रचण्डबाट छुट्टिएका थिए । प्राय: कम बोल्ने नेतामा बास्तोला पर्छन् । विप्लवका विश्वासपात्रसमेत रहेका बास्तोला पक्राउ परेपछि प्रहरी भने उत्साहित देखिएको छ । बास्तोलामाथि प्रहरीको विशेष टोलीले अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्दा बरामद भएका सामग्रीको अध्ययन गर्ने प्रहरी तयारी छ । एक प्रहरी अधिकारीले भने, “प्रारम्भिक रुपमा केही सामाग्री फेला परेका छन् । त्यसको अनुसन्धान हुन बाँकी छ । त्यसबाहेक बयानबाट पनि केही खुल्न सक्छ । माथिल्लो तहका नेता भएकाले उनले मुख खोल्ने सम्भावना भने निकै कम हुनसक्छ ।”
बास्तोलाको साथबाट बरामद भएका मोबाइल, ल्यापटपलगायतको प्राविधिक अनुसन्धानबाट केही खुल्नसक्ने सम्भावना प्रहरी अधिकारी देख्छन् । बास्तोलाबाटै विप्लवसम्म पुग्ने ‘कनेक्सन’ खोजिने प्रहरी अधिकारी बताउँछन् ।
पछिल्लो तीन वर्षयता विप्लव पूर्ण रुपमा भूमिगत छन् । तर पार्टीनिकट मुखपत्रलाई भने उनले बेलाबेला भिडियो अन्तर्वार्ता दिँदै आएका छन् । विप्लवसम्म नेता खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोलालगायत सीमित नेताहरुको पहुँच रहेको समूहकै नेताहरु बताउँछन् । पार्टीका सबैजसो बैठक र प्रशिक्षणसमेत विश्वकर्मा र बास्तोला खटिँदै आएका थिए ।
विप्लवले मोबाइल, इन्टरनेटलगायत प्राविधिक कुराहरुको प्रयोग नगर्ने भएकाले अनुसन्धानमा समस्या हुँदै आएको प्रहरी अधिकारी बताउँछन् । विप्लव नेपालमै रहेको सुरक्षा निकायले दाबी गर्दै आएका छन् ।
सुरक्षा निकायको विश्लेषणअनुसार उच्च तहका नेताहरु धमाधम पक्राउ परेसँगै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कमजोर बन्दै गएको छ । मुलुककका चारवटै सुरक्षा निकायले चन्द नेकपाका गतिविधिमाथि उच्च निगरानी सुरु गरेका छन् ।
दुई वर्षअघि सरकारले विप्लव नेकपामाथि प्रतिबन्धको घोषणा गरेको थियो । सो नेकपा विरुद्ध ‘सर्च एन्ड अरेस्ट’ अपरेसन चलाउँदै आएको छ । विप्लव नेकपा पछिल्लो समय भौतिक कारबाहीतर्फ अगाडि बढेको पाइएको छ । सो समूहका शीर्ष नेतामध्येका एक हेमन्तप्रकाश ओली ‘सुर्दशन’ पनि कारागारमै छन् ।
विप्लव नेतृत्वको नेकपामाथी भइरहेकाे अराजनीतिक व्यवहार प्रति सर्वत्र बिराेध हुँदै आएपनि प्रहरीले भने नेता -कार्यकर्ताविरुद्ध विस्फोट, कर्तव्यज्यान, चन्दा आतंकलगायत अभियोग लगाउँदै आएको छ ।