राजनीति
नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता दावी गर्न प्रचण्ड–माधव पक्षका शीर्ष नेताहरु निर्वाचन आयोगमा जाने भएका छन् । अध्यक्षद्वाय प्रचण्ड र माधवकुमार नेपालसहितको टोली आयोग जान लागेको नेता लिलामणि पोखरेलले जानकारी दिए । उनका अनुसार आवश्यक कागजपत्रसहित अध्यक्षद्धयसहितको टोली ११ बजेपछि आयोग जान लागेको हो ।
सोमबार बसेको प्रचण्ड–माधव पक्षको चौथो केन्द्री समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न पत्रसहित जाने निर्णय गरेको थियो । सोही अनुरुप राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने नेकपाका नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसँगै दुई खेमामा विभाजित नेकपाको प्रचण्ड–माधव पक्षले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ भने महासचिव विष्णु पौडेलको जिम्मेवारी खोसेको छ ।
यसअघि ओली र प्रचण्ड नेपाल दुवै पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेपनि आयोगले दुबै पक्षको निर्णय अस्वीकार गर्दै नेकपा विभाजन नभएको जनाएको थियो । आयोगको उक्त निर्णयको आलोचना हुँदै आएको छ ।