राजनीति
नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले संविधान मिचेर निरंकुश शासन चलाउन खोज्ने प्रधानमन्त्री केपी ओली र आफूलाई चिडियाखानामा थुन्ने धम्की दिने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आन्दोलन सफल भएपछि जनताले गल्लीमा घिसार्ने चेतावनी दिए।
दमौलीमा शनिबार तनहुँका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले ओली र थापाको अन्त्य इतिहासका तानाशाहको जस्तै हुने उल्लेख गरे ।
ओली समूहले शुक्रबार राजधानीमा गरेको शक्ति प्रदर्शनमा गृहमन्त्री थापाले प्रचण्ड–नेपाल समूहलाई लक्षित गर्दै ‘मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलको चिडियाखानामा थुन्ने’ अभिव्यक्ति दिएका थिए ।
बादलले ओली सरकारमा तीन वर्षसम्मसँगै बस्दा जनसरोकारका विषयमा एक शब्द नबोलेको सन्दर्भ कोट्याउँदै पुनले अहिले आएर आफ्नै पूर्वसहकर्मीविरुद्ध मुख छाडेकोप्रति आपत्ति जनाए ।
नेकपाको ओली–थापा समूहमा लागेका नेता कार्यकर्तालाई भ्रष्टाचार मुद्दामा कारबाहीको धम्की आउन थालेको भन्दै पुनले धम्कीसँग आफू नतर्सने बताए । अख्तियार, लोकसेवा, निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा असंवैधानिक रुपमा गरिएका नियुक्ति बदरविरुद्ध दलहरु, नागरिक अगुवा र सञ्चारमाध्यमले आवाज उठाइरहेका बेला विरोधी तर्साउन धम्की दिएको उनको भनाइ छ ।
सत्ताको दुरुपयोग गरेर दिइने धम्कीबाट निरंकुशताविरुद्ध युद्ध, क्रान्ति र जेलनेल सहेर आएका, नेता कार्यकर्ता नडराउने उनको भनाइ छ ।
विगतमा धम्की दिने ज्ञानेन्द्र शाहको अहिलेको अवस्था हेर्न सुझाव दिँदै उनले ओली र थापाको हालत पनि त्यस्तै हुने उल्लेख गरे । धम्की दिन र सडकमा पञ्च¥याली शैलीमा प्रदर्शन छाडेर जनताका पक्षमा लोकप्रिय काम गरे विरोधी आफैं तह लाग्ने उनको भनाइ थियो ।
मन्त्री पुनले २०६२/०६३ सालको आन्दोनविरोधी भन्ने जान्दाजान्दै सुध्रिएको विश्वासमा ओलीलाई नेतृत्व स्वीकार गरेर गल्ती भएको स्वीकार गरे ।